२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नुवाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाकाे मृत्यु, छाेराकाे अवस्था गम्भीर

९ कात्तिक, काठमाडाैं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

बा ४ ख ५७९३ को नम्बरको बसले वाग्मती प्रदेश ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकललाई बेलकोटगढी-७ बुधसिंघाटमा  ठक्कर दिँदा अन्दाजी ५० वर्षीया सावित्रा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार बसको ठक्करबाट घाइते आमा सावित्रा र छाेरा २३ वर्षीय अर्जुन अधिकारीलाई उपचारका लागि त्रिशूली अस्पतालमा लगिएकोमा सावित्रालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते अर्जुनलाई त्रिशूली अस्पतालमा उपचार नभएपछि काठमाडौं रिफर गरिएको छ । बस घटनास्थलमै रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १७:२१