चीनको राजधानीको नाम बिगार्दा पाकिस्तानको सरकारी टेलिभिजनका प्रमुखको जागिर चट
२१ कात्तिक, काठमाडाैँ । चीनको राजधानीको नाम बिगार्दा पाकिस्तानको सरकारी टेलिभिजनका प्रमुख बर्खास्त भएका छन । पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पोरेसन(पीटीभी) का प्रमुख अरशद खानलाई पदबाट हटाइएको छ ।
समाचार एजेन्सी एएनआईका अुनसार चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा पीटीभीले चीनको राजधानी बेइजिङ BEIJING काे सट्टा बेगिङ BEGGING लेखेकाले उनलाई पदबाट हटाइएको हो ।
इमरान खान सोमबार देखि चीनको पाँच दिने औपचारिक भ्रमणमा रहेका छन् । पाँच नोभेम्बरमा चीनको राजधानी बेइजिङमा भएको एक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा अंग्रेजीमा ‘बेइजिङ’ लेख्नुपर्नेमा ‘बेगिङ’ अर्थात भिख माग्नु हुन गएको थियो । २० सेकेण्डसम्म ‘बेगिङ’ टेलिभिजन स्क्रीनमा देखिएको थियो । पछि गल्ती महसुस गर्दै च्यानलले त्यो शब्द टेलिभिजनबाट हटाएको थियो ।
प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार ०८:०३