१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कुमारी बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति पाइन्छ ब्याज ?

२ कात्तिक, काठमाडाैं । कुमारी बैंक लिमिटेडले आज (कात्तिक २ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेकाे छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। बैंककाे ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार ११:१४