आजदेखि नयाँ नोटको सटही सुविधा सुरु, वाणिज्य बैंकहरूका यी शाखाबाट मात्रै साट्न पाइने
२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आज असोज २९ गते सोमबारबाट नयाँ नोटको सटही सुविधा सुरु गरेको छ । राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।
राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ ।
काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन् । रू पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइनेछ ।
विगत बर्षहरूमा जस्तो विकास बैंक र फाइनान्स कम्पनीहरुले भने नयाँ नोट साट्ने सुविधा यस पटक दिएका छैनन । त्यसैगरि, वाणिज्य बैंकहरुले पनि विगतमा जस्तो सहज ढङ्गले सबै शाखा कार्यालयहरूबाट यस्तो सेवा प्रवाह गरेका छैनन ।
वाणिज्य बैंकहरुले केही सीमित शाखाहरूबाट मात्रै नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएका छन् । ग्लोबल आइएमई बैंकले काठमाडौंको कान्तिपथ, कमलादी, धापासी, ललितपुरको पुल्चोक र भक्तपुरको सुर्यविनायक शाखाबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ ।
माछापुच्छ्रे बैंकले काठमाडौंको लाजिम्पाट, भक्तपुरको कौशलटार र ललितपुरको पुल्चोक शाखाबाट नयाँ नोट सटही गरिरहेको छ ।
सिटिजन्स बैंकले काठमाडौंको दरबारमार्ग, न्युरोड, कलंकी, मैतीदेवी, थापाथली, कमलादी, नयाँ बानेश्वर, सामाखुसी, धुम्बाराही, बौद्ध र किर्तपुर शाखाबाट नयाँ नोट सटही गरिरहेको छ । त्यस्तै, यस बैंकले ललितपुरको कुमारी पाटी, थसिखेल, भैंसिपाटी र भक्तपुरको ठिमी, सुर्यविनायक शाखाहरूबाट समेत नयाँ नोट सटही गरिरहेको छ ।
एनएमबि बैंकले सितापाइला, कान्तिपथ, सुर्यविनायक, बागदरबार, चाबहिल र बसुन्धारा कार्यालयहरूबाट नयाँ नोट साटिरहेको छ ।
कुमारी बैंकले पुतलीसडक, गोंगबु, महाराजगञ्ज, कुमारी पाटी, चाबहिल, पेप्सिकोला, बागबजार, टेकु, नयाँ बानेश्वर र सूर्य विनायक शाखाबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ ।
एनआईसी एशिया बैंकले थापाथली, धापासी, भैंसिपाटी र व्यासी विस्तार काउन्टरबाट नयाँ नोट सटही गरिरहेको छ ।
नबिल बैंकले लाजिम्पाट, गुसिगंल, मंगलबार, कमल विनायक र बौद्ध जोरपाटी शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
तर सानिमा बैंकले काठमाडौं उपत्यकाभित्र रहेका सबै शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यस बैंकले काठमाडौं उपत्यका बाहिर बनेपा र नौबिसे शाखाहरूबाट समेत नयाँ नोट सटही गर्ने व्यवस्था गरेकाे छ ।
प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १५:१९