२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

२८ असोज, गलकोट (बागलुङ) । भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राए । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याए ।

लामो समयदेखि दसँै र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए । उनका अनुसार एउटाको मूल्य रू ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रू ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो । “अहिले रोज्जा च्याङ्ग्रा रू ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु प¥यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ”, उनले भने “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउदा मुस्ताङ्का च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।”

थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याए । छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन् । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् ।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसँैमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताए । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १७:०५