२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

उकालाेमा नतान्ने र अाेरालोमा नधान्ने थोत्रा गाडीको अन्त्य, २० वर्ष पुराना सवारीमा अाजदेखि प्रतिबन्ध


१ चैत, काठमाडाैँ । सरकारले अाजदेखि देशभरबाट २बीस वर्ष नाघेका सार्वजनिक सवारीलार्इ सञ्चालनमा प्रतिबन्ध लगाएको छ । बीस वर्ष नाघेका यातायात गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरेको छ ।

मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्ष्भित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् ।

ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताए । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०७:३२