२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

गाउँमै विद्यार्थी टिकाउन अक्षय कोष

२७ असोज, मलेखु (धादिङ) । धादिङको त्रिपुरासुन्दरी–६ गोलाङमा रहेको भीमोदय माध्यामिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउनका लागि रू १० लाखको अक्षय कोष स्थापना गरेको छ । गोलाङ घर भई हाल अमेरिकामा बस्दै आउनुभएका दिवाकर पाण्डेको परिवारले स्व पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे–२०८०’ अक्षय कोष स्थापना गरिदिए । जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका विद्यार्थीलाई गाउँमै टिकाइ राख्ने उद्देश्यले केही रकम छुट्याएर कोषमा स्थापना गरेको उनले बताए ।

“विद्यार्थी भाइबहिनीहरु गाउँ छोडेर अन्यत्र जानुपर्ने स्थिति अहिले देखिएको छ । घर आँगनकै विद्यालयबाट गुस्तरीय शिक्षा प्रदान गरेर उनीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गरेको हुँ”, एनआरएन अमेरिकाको सहकोषाध्यक्षसमेत रहेका पाण्डेले भने, “विद्यालय स्थापनाका लागि बुबाको भूमिका अहम् थियो । यो कोष उहाँको सम्मानका लागि पनि हो ।”

आफू देश बाहिर भए पनि जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्धलाई फेरि जोड्नका निमित्त सहयोग गरिएको पाण्डेको भनाइ थियो । कोषका लागि रू १० लाखको चेक हस्तान्तरण गर्न पाण्डेकी श्रीमती इन्दिरा सिंखडा, आमा र दाजु गोलाङ पुग्नुभएको थियो । उनीहरुलाई विद्यालयका शिक्षकले स्वागत गरेका थिए । विद्यालयमा अक्षय कोष स्थापना भएसँगै आर्थिक अवस्था कमजोर भएर पढाई छोड्नुपर्ने बाध्यता भएकाका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता हुने भएपछि विद्यालयका शिक्षकको भनाइ थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १६:३०