२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सामाजिक विभेदविरुद्ध सिर्जना

२७ असोज, काठमाडौँ । नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)मा कला कार्यशाला सुरु भएको छ । सामरी उत्थान सेवाको आयोजना र प्रतिष्ठान हस्तकला विभाग, समसामयिक चित्रकला विभागको सहकार्यमा ‘जातव्यवस्था र यौनिकता ः कला प्रतिरोध’ शीर्षकमा दुईदिने चित्रकला कार्यशाला सुरु भएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भन्नुभयो, “दलित समुदायले विशेष रुपान्तरण खोजेका छन्, कार्यशालामा पक्कै पनि यस्ता प्रकारका विम्ब आउने छन्, कार्यशालाले जनचेतना फैलाउने आशा राख्न सकिन्छ, कलामार्फत समानता र सरलताको स्थान बनाउनुपर्ने र त्यसको सशक्त माध्यम कला हो ।”

पूर्वराजदूत पदम सुन्दासले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस किसिमको कार्यक्रम गरेकामा खुसी व्यक्त गर्दै कार्यशालाले दलितको भावनालाई समेट्ने बताए । उनले कलाकारले सोहीअनुसार चित्रको निर्माण गर्नुहुनेछ भन्ने अपेक्षा आफूले राखेको बताए प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सामाजिक विभेदका बारेमा कलाले बोल्नुपर्ने र चित्रमार्फत मानव प्रवृत्ति, जात व्यवस्था र यसले समाजमा पारेको प्रभावलाई सम्बोधन गर्ने बताए । प्राज्ञपरिषद् सदस्य अरुणा हिङ्माङले दलित र परलैङ्गिक समुदाय पनि यो समाजको हिस्सा भएको तथा उनीहरुलाई पनि समान व्यवहार गरिनुपर्नेमा जोड दिए ।

उनले उनीहरुका आवाजलाई स्थान दिन आयोजना गरिएको दुईदिने कार्यशाला प्रभावकारी हुने बताए । प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवाले पानीभित्रका अनेकन विम्ब र त्यसले अवरोध सिर्जना गरेका सामाजिक कूरीति तथा कुसंस्कार धेरै भएको र कलामार्फत कुसंस्कार हटाउने अभियानमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । सामरी उत्थान सेवाका अध्यक्ष विमला गायकले आफूले विभिन्न सङ्घसंस्थामा बसेर काम गर्दा भोगेको तीतो यथार्थ बताउँदै प्रतिष्ठानसँग मिलेर महत्वपूर्ण काम गर्न पाउँदा खुसी लागेको बताए । आज समापन हुने कार्यशालामा २५ कलाकारले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १४:५७