२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रवासी नेपालीलाई लगानी भित्र्याउन आग्रह

२७ असोज, बेनी (म्याग्दी) । प्रवासी म्याग्देलीलाई जिल्लाको विकास र समृद्धिको अभियानमा लगानी भित्र्याउन यहाँका सरोकारवालाले आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचाँै महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताले पर्यटन, कृषि, पशुपालन र जलस्रोतमा अथाह सम्भावना बोकेको म्याग्दीमा पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा प्रवासी म्याग्देलीले गरेको सहयोग प्रशंसायोग्य रहेको बताउँदै जिल्लामै रोजगार सिर्जना हुने क्षेत्रमा लगानी गर्न आग्रह गरे । आर्थिक अवस्था कमजोर रहेकाको उपचार, प्राकृतिक विपत्तिमा परेकाको राहत सहयोगदेखि प्रवासमा अलपत्र परेकाको उद्धारमा मोनाले गरेको काम रचनात्मक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा पूर्वमन्त्री थममाया थापा र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विश्वभर छरिएर रहेका म्याग्देलीलाई एकताबद्ध गर्न मोना प्रयासरत रहेको बताउँदै जिल्लाको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गरे ।

प्रवासमा आर्जन गरेको सीप, पुँजी र अनुभवलाई जिल्ला र मुलुकको विकास तथा समृद्धिमा टेवा पुग्ने गरी लगानीका रुपमा भित्र्याउन उनीहरुले प्रवासी म्याग्देलीलाई आग्रह गरे । कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी र विमला गौचनले प्रवासमा रहेका म्याग्देलीलाई जिल्लाको पर्यटन, जलविद्युत्, उद्योगलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरे । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मोनाले आपत्विपत्, मानवीय सेवा र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गरे ।

मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका प्रमुख संरक्षक ओमनारायण जुग्जाली, पूर्वअध्यक्ष प्रकाश पुन र योगेन क्षेत्रीले प्रवासी म्याग्देलीले स्थापनाकालदेखि म्याग्दीमा विभिन्न क्षेत्रमा ठूलो सहयोग पु¥याउँदै आएको बताए । मोनाले विश्वका विभिन्न २८ मुलुकमा रहेका म्याग्देलीलाई सङ्गठित गरेको छ । नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाहकार मिम पुर्जाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्दै आए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १४:४५