भर्नुभयाे त ? सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२२ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ। बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। बैंकको ऋणपत्रमा मागबमोजिम आवेदन नपरेका कारण कात्तिक १ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको थियो । तर मागबमोजिम आवेदन परेका कारण आज बैंकिङ समयसम्म मात्रै बैंकको ऋणपत्रमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ।
बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा सम्पूर्ण इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १२:१२