२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

चालक/सहचालकको नियमित स्वास्थ्य परीक्षण

२० असोज, लुम्बिनी । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । चालकलाई समय अनुकूल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरुको तनाव व्यवस्थापनका लागि नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा सार्वजनिक सवारीसँग सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिले जोड दिएका हुन् ।

सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनसम्बन्धी अभियानलाई सञ्चालन गर्दै आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको आयोजनामा चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरुले सार्वजनिक सवारीका चालक तथा कर्मचारीले आफ्नो स्वभाव र व्यवहारमा परिवर्तन ल्याउनुुपर्ने खाँचो पनि औँलयाएका छन् । कार्यक्रममा राजमार्ग सुरक्षा तथा

सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी चालकहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । सवारी चालकले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई उहाँले आग्रह गर्नुभयो । प्रहरी निरीक्षक पाण्डेले सभ्य भाषा, नम्र बोलीसहितको सेवा नै अचुक औषधी भएको बताउँदै अपाङ्ग र आरक्षण सिट कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नाका साथै बर्सेनि हुने धनजनको क्षतिसमेत कम गर्न सकिने बताउ । सार्वजनिक सवारी साधन प्रयोगकर्ता पनि दुर्घटना न्यूनीकरणका विषयमा उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिउ । सुरक्षित यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदुर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सहचालकले यात्रुहरुसँग नम्र व्यवहार गर्नुपर्नेमा जोड दिँदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रालिले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रालिका सञ्चालक तथा सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनका संयोजक नारायणप्रसाद घिमिरेले सवारी चालक तथा सहचालकले आफ्नो सीप, कला र दक्षता बढाउनाका साथै यात्रुहरुसँगको व्यवहारमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार प्रालिमा करिब दुई हजार पाँच सय बस व्यवसायीहरु आबद्ध रहेको र सात हजार पाँच सय यातायात मजदुरहरुलाई रोजगारी प्रदान गर्दै आएको छ । संस्थाले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापन प्रशिक्षणलाई निरन्तर सञ्चालन गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १४:४१