१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना


१९ कात्तिक, काठमाडाैँ ।  श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गर्नुभएको छ । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गर्नुभएको हो ।

स्रोतका अनुसार पदच्यूत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी (युएनपी) का समर्थकहरुले राष्ट्रपतिको निर्णयप्रति पनि आक्रोश व्यक्त गरेका छन् । युएनपी समर्थकहरुले अन्तर्राष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन् ।

श्रीलंकामा राष्ट्रपति सिरिसेनाले अक्टोबर २७ मा नोभेम्बर १६ सम्मका लागि संसदीय कारबाही स्थगित गरेसँगै विगत तीन हप्तादेखि राजनीतिक सङ्कट चुलिएको छ । राष्ट्रपति सिरिसेनाले संसदीय कारबाही स्थगित गर्नुका साथै प्रधानमन्त्री विक्रमासिङ्घेलाई पदबाट हटाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपतिको उक्त कदमसँगै युएनपी र राष्ट्रपतिको दल श्रीलंका फ्रिडम पार्टीबीचको गठबन्धन टुटेको थियो । यसैबीच, संसदमा १५ सदस्य रहेको तामिल नेसनल एलायन्सले राजापाक्षका विरुद्धमा आउने अविश्वासको प्रस्तावको समर्थनमा मतदान गर्ने जनाएको छ ।  रासस

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १३:४७