१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

गण्डकीमा ‘क्लीनस्वीप’ गरेपछि युवाहरूको गीत ‘…केपी पछि हाम्रा बा पिएस हुन’

१९ असोज, गण्डकी । नेकपा (एमाले) गण्डकीमा पार्टी हेडक्वार्टरको प्यानल ‘क्लिनस्वीप’ गरेपछि युवाहरूले गीत गाएर रमाइलो गरेका छन । गएराति सम्पन्न भएको अधिवेशनमा युवाहरूले एमाले मुख्यालयले उठाएका उम्मेदवारको प्यानल नै भारी मतले पराजित गरेपछि युवाहरूले गीत गएर रमाइलो गरेका हुन । एमाले भित्र हक्की स्वाभावका केपी शर्मा ओलीसँग आँखा जुधार हरेक विषयमा बहस गर्न सक्ने एकमात्र पदाधिकारी भनेर पहिचान बनाएका उपमहासचिव पृथ्वी सुब्बा गुरूङले समर्थन दिनएको समूहले पार्टी अध्यक्ष र महासचिव शंकर पोखरेलको समर्थन प्राप्त समूहलाई पराजित गरेको हो ।

ओली र पोखरेलले पिएसको बिरूद्धमा लमजुङका मायानाथ अधिकारीलाई प्रस्तुत गरेका थिए । अधिकारीको नेतृत्वमा उक्त समूहले प्यानल नै तयार गरेको थियो । त्यसको काउन्टरमा पिएसले पनि वर्तमान अध्यक्ष नवराज शर्माकै नेतृत्वमा समूह तयार गरेका थिए । चुनावी परिणाममा शर्मा नेतृत्वको प्यानलले अधिकारी नेतृत्वको प्यानलाई क्लिन स्वीप नै गरिदियो ।

चुनावी परिणाममा अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै नवराज शर्मा विजयी भए । शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए ।

यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी भएका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरिन् । विजयी सबै पृथ्वी सुब्बा गुरूङको समर्थन प्राप्त गरेका शर्मा प्यानलका उम्मेदवार हुन । कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेका थिए । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार विजयी भएका छन ।

यसअघि अधिवेशन भएको चार प्रदेशमध्ये लुम्बिनी र कर्णालीमा पनि पार्टी मुख्यालयले विजयी गराउन खोजेका उम्मेदवार पराजित भएका छन भने मुख्यालयले जिताउन खोजेका उम्मेदवार बागमती र कोशीमा विजयी भएका छन । बागमतीमा एक सचिव र उपसचिव पार्टी मुख्यालयको प्यानलभन्दा बाहिरबाट विजयी भए भने कोशीमा क्लिनस्वीप नै गर्यो । बागमतीमा निर्वतमान अध्यक्ष केशवराज पाण्डेलाई नै बन्धक बनाएर उम्मेदवारी दर्तामै अबरोध सिर्जना गरिएको थियो भने मतदानको समयमा पार्टी कार्यालयको चोटाकोठामा प्रतिनिधि बोलाएर फलानोलाई मतदान गरिस भने तिमीहरू सकियौ भन्दै चेतावनी दिएर प्यानलको लिस्ट बाँडेर मतदान गर्न बाध्य पारिएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ०९:३५