२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमसीसीको परियोजनामा सुरक्षाको समस्या हुँदैनः उपप्रधानमन्त्री श्रेष्ठ

१६ असोज, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र एमसीसी, अमेरिकाका सिईओ एलिस अलब्राइटबीच मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्‍न भएको छ। सिईओ अल्ब्राइइट र उहाँको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक-सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

साथै नेपालको संसदले नै एमसीसी परियोजना पारित गरेकोले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताउनुभयो। परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उहाँले बताउनुभयो। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास श्रेष्ठले दिलाउनुभयो।

एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफुले जानकारी लिएको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। त्यसक्रममा सिईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकोले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुशी व्यक्त गर्नुभयो।

एससीसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकार अन्तर्गतको संरचना रहेको उहाँले बताउनुभयो। परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफुहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेको समेत अल्ब्राइटले बताउनुभयो। एमसीसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अंग भएको र यसको कार्यान्वयनले नेपाल-अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्‍वास सिईओ अल्ब्राइटले व्यक्त गर्नुभयो।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १४:४८