२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

हुलाकी सडकः निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

१५ असोज, महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक बर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । यहाँ अझै ५० किलोमिटर सडक कालापत्रे गर्न बाँकी छ । कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६÷०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।

साढे २९ किलोमिटर उक्तखण्ड तीन वटा प्याकेजमा ठेक्का दिइए पनि पहिलो प्याकेजको काम मात्रै सम्पन्न भएको हो । त्यसैगरी कैलालीमा पूर्व–पश्चिम (धनगढी क्याम्पस रोड–सत्ती) ४४ किलोमिटर हुलाकी सडकमा पाँच किलोमिटर मात्रै काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए । उनले कामको अवस्था हेर्दा चालु आर्थिक वर्षमा बजेट अपुग नभए सडक निर्माण सकिनेमा आफू आशावादी रहेको बताए ।

क्याम्पस रोड–सत्ती सडकखण्ड निर्माणका लागि चारवटा प्याकेजमा निर्माणको जिम्मा दिइएको इन्जिनियर सुनारको भनाइ थियो । चालु आर्थिक वर्षमा कैलालीतर्फ हुलाकी सडक निर्माणका लागि रु ३९ करोड सरकारले बजेट बिनियोजन गरेको छ । “बजेट कम भएन र निर्माणमा कुनैखाले अवरोध भएन भने चालु आर्थिक वर्षमै काम सकिन्छ,” उहाँले भन्नुभयो “यहाँ निर्माण व्यावसायीको ढिलासुस्तीका कारण पनि ढिलो भएको हो ।

कैलालीमा हुलाकी सडक निर्माणको म्याद आगामी पुस मसान्तसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६४÷६५ देखि हुलाकी सडक निर्माणको कार्य सुरु गरिएको थियो । सुरुवातमा भारतको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी सडक निर्माण गरेको थियो तर सो कम्पनीले राजमार्ग निर्माण अधुरै छोडेपछि सरकारले उक्त सडक आयोजना आफ्नै लगानीमा अघि बढाएको थियो । यता कञ्चनपुरमा पनि साढे ६२ किलोमिटर हुलाकी सडकका लागि पाँचौ पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन ।

इन्जिनियर सुनारका अनुसार कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकमा साढे ३६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । विसं २०७३ फागुनमा निर्माण सुरु भएको उक्त खण्डलाई तीन प्याकेजमा निर्माण गर्न दिइएको थियो । पहिलो प्याकेज पाँचौ पटकसम्म म्याद थप गर्दा सकिएपनि दुई वटा प्याकेजको काम ५० प्रतिशतभन्दा बढी बाँकी नै छ । “ दोस्रो प्याकेज (बेलौरी–बेल्डाँडी) २० किलोमिटरमध्ये साढे नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।”

उनले भने, “तेस्रो प्याकेज (बेल्डाँडी–दैजी) को २४ किलोमिटरमध्येमा आठ किलोमिटरको काम सकियो ।” उक्त दुवै प्याकेजको म्याद गत असारमा सकिएकामा अहिलेसम्मका लागि पुनः म्याद थप गरिएको छ । यहाँ रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले दोस्रो प्याकेजको निर्माणको जिम्मा पाएपनि सो कम्पनी अहिले हुलाकी सडक योजना कार्यालयको सम्र्पकमा नरहेको इन्जिनियर सुनारको भनाइ थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १३:२२