२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

१४ असोज, काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी दिएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ’ निगमले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । शनिबार राति १२ बाट लागु हुने गरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो ।

निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १४:५६