१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

उपाध्यक्ष विष्णु पौडेलसहित एमाले अध्यक्ष केपी ओली बालुवाटारमा, सुन समितिबारे छलफल

१४ असोज, काठमाडौँ । पार्टी उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौलासहित एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन । लामो विदेश भ्रमणबाट शनिबार स्वदेश फर्किएका प्रधानन्त्री प्रचण्डको निमन्त्राणमा ओली बालु्वाटार पुगेका हुन । एमालेले आइतबारबाट बोलाइएको संसद बैठकमा अबरोध गर्ने पूर्व संकेत दिएपछि प्रचण्डले ओलीलाई बालुवाटारमा बोलाएका हुन ।

सुन तस्करीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओली र प्रधानमन्त्री प्रचण्डको बीचमा छलफल भएको छ । डेढ क्वीन्टलबाट ६० किलोमा झरेको सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै लामो समय संसद अबरूद्ध बनाएको थियो । तर पछि दलहरूको बीचमा एक महिनाभित्र समिति बनाउने भन्ने सहमति भएपछि एमाले पछि हटेको थियो । सरकारले उक्त प्रतिवद्धता पूरा नगरे पछि एमालेले फेरि सरकार माथि दबाब बढाएको छ । माओवादी केन्द्रका नेताहरूकै संरक्षणमा पछिल्लो समयमा ठूलो मात्रामा सुनतस्करी हुने गरेको तथ्य बाहिर आएपछि त्यसको निष्पक्ष छानविन गरेर अनुसन्धान गर्ने भन्दा पनि कसरी ढाकछोप गर्न सकिन्छ भन्नेमा सरकार लागेको देखिन्छ ।

यसअघि शनिबार एमालेका सचेतक महेश बर्ताैलाले सामाजिक सञ्जाल मार्फत अाजको बैठकमा सुनतस्करी प्रकरणको विषयमा सहमति गरेर कार्यान्वयन नगरेको विषयमा सरकारसँग हिसाबकिताब हुने चेतावनी दिएका थिए । बर्ताैलाले भनेका थिए, ‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ । तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेट तर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ । सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन । बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो। असोज ५ पछी धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन। सहमति प्रति सरकारले पुरै धोका दियो । सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि बस्ने संसदको बैठकमा राम्रै सँग हुने नै छ । यद्यपि सम्बाद र छलफल मार्फत समस्याको समाधानको लागी हाम्रो ढोका भने बन्द हुने छैन ।’

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार ०९:४२