२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

१३ असोज, दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरु आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताए ।

उनले भने, “घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौँ । यसबाट उहाँहरुले आर्थिक आम्दानी गर्न सक्नुहुनेछ ।” भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनको भनाइ थियो । कोषमार्फत उद्योगका लागि रू चार लाख सहयोग भएको छ भने लागत साझेदारीमा रू तीन लाख ८५ हजार बेहोरिएको सचिव सुवेदीले जानकारी दिए ।

उनका अनुसार थप रकम समूहमा आबद्ध ३६ जना सदस्यबाट जनही रू २३ हजारका दरले सङ्कलन गरिएको छ । उक्त रकमबाट मिस्टर मेसिन, क्रेज मिल, ग्रेन्डर क्रेज, वेन्ड सिलर, प्याकेजिङ मेसिनलगायत उद्योगका लागि आवश्यक सामग्री खरिद गरिएको सचिव सुवेदीले जानकारी दिए । उनका अनुसार उद्योगबाट सर्फ उत्पादन सुरु भइसकेको छ । सुवेदीका अनुसार सुरुआती चरणमा एक किलो सर्फलाई रू तीन सय ५०, पाँच सय ग्रामलाई रू एक सय ७० र सात सय ग्रामलाई रू दुई सय ७० मा बिक्री सुरु गरिएको छ ।

“घरमा यत्तिकै बस्नुभन्दा केही उद्यम गरौँ भन्ने भावनासहित आमा समूहमा सल्लाह गरेपछि उद्योग सञ्चालनको प्रस्ताव आएको थियो”, उनले भने, “त्यसमा नगरपालिकाले सहयोग गरेपछि सहज भएको छ ।” विसं २०५३ मा स्थापित आमा समूहले मठमन्दिर जाने बाटो, सेती नदी किनारमा कोटीहोमस्थलमा प्रतीक्षालय, देउराली बागटार दुर्गा मन्दिर निर्माणमा सहयोग गरेको छ । नगरपालिकाका हरेक नगरवासीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित उपप्रमुख समृद्धि कोष अभियान सञ्चालन गरिएको उपप्रमुख शारदा खनालले बताए । उनले भने, “हरेक महिलाहरु आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौँ ।

उद्यमी बन्न कोषबाट सहयोग गर्छौं ।” महिलाले स्थापना गरेको उद्योगले महिलालाई उद्यमशील बन्न सहयोग पुग्नाका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी बताए । उनले भने, “भिमाद नगरपालिकाको समृद्धिका लागि महिलाहरु उद्यमशील हुनुपर्छ । उद्यमी बन्नेलाई अनुदान सहयोग गर्छौँ ।”

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १३:३८