१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

एनआरएनएका महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीको बहराइनमा भब्य स्वागत

१२ असोज, बहराईन ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराइनले एनआरएनए ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीको भब्य स्वागत गरेको छ । शुक्रबार एनआरएनए बहराइनको राष्ट्रिय समन्वय परिषद्को आयोजनामा भएको स्वागत तथा भेटघाट कार्यक्रममा महासचिवका प्रत्यासी सुवेदीले आफ्नो उम्मेदवारीको बारेमा जानकारी दिएका थिए ।

स्वागत तथा भेटघाटमा एनआरएन बहराइनका अध्यक्ष राजुकुमार श्रेष्ठ, कार्यसमितिका सदस्यहरू उपस्थित रहेका थिए । सो अवसरमा महासचिवका प्रत्यासी सुवेदीले एनआरएनलालई दलीय राजनीतिबाट मुक्त राख्नुपर्ने बताए । उनले  संस्थाको गरिमा र इतिहासलाई जोगाउनुपर्ने अवस्था आएकाले राजनीतिमुक्त संस्था बनाउने आफ्नो दृढता राखे । सुवेदीले इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन र विवेक प्रयोग गर्न एनआरएनए बहराइनको टिमसँग अुनरोध गरे ।

महासचिवका प्रत्यासी सुवेदीले एनआरएनए बहराइनको टिमसँग भेट्न पाउँदा धेरै खुसि लागेको प्रतिक्रिया दिए । सुवेदीले एनसीसीको अध्यक्ष भैसकेको व्यक्तिले आइसीसी महासचिव पदमा उम्मेदवारी दिनु स्वाभाविक भएको पनि बताएका छन । सुवेदीले आफूसँग काम गर्ने प्रशस्त समय र क्षमता भएकाले महासचिव भएर काम गरेर देखाउने प्रतिबद्धता जनाए । सो अवसरमा बहराइनका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष लगायतले सुवेदीको प्रतिवद्धताले सकारात्मक उर्जा मिलेको बताए ।

सुवेदीले एनआरएनए आइसीसीको महासचिव र अध्यक्ष पदमा कसैलेपनि दोहोर्याउन नहुने भन्दै नयाँ आउनेहरुलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै आएका छन । उनले आफूले पनि महासचिवमा एक कार्यकाल भन्दा धेरै काम नगर्ने प्रतिवद्धता जनाएका छन । सुवेदीले एनसीसी अमेरिकाको नेतृत्व गर्दा झोलाबाट चल्ने संस्थालाई घरमा पुर्याएका थिए ।

सुवेदीले आफ्नो नेतृत्वमा एनसीसी (राष्ट्रिय समन्वय परिषद)हरुलाई बलियो बनाउने, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने तथा एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाएका छन । सुवेदीले ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गर्दै आएका छन । संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफ्नो उम्मेदवारी रहेको सुवेदीको भनाइ छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार २१:२७