१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायोः इरान


१८ कात्तिक,तेहरान । अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताउनुभएको छ ।खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन् ।

अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ ।”
अमेरिकाद्वारा तेल लगायतका सामानमा सोमबारदेखि लागु हुने भनिएको इरानमाथि लगाइएको पछिल्लो प्रतिबन्धप्रति हल्का टिप्पणी गर्दै अमेरिकी सरकारको कट्टर आलोचक खामेनीले यो सफल नहुने बताउनुभयो ।

इरान र अमेरिकाबीचको विवाद ४० बर्ष लामो भएको भन्दै वासिङ्टनले इरानविरूद्ध सैन्य, आर्थिक तथा सञ्चारको प्रयोग गरी हरेक प्रयास गरेको तर हराउन विफल भएको छ, खामेनीले भन्नुभयो । उहाँले थप्नुभयो, “ विगत ४० बर्षको चुनौतिपछि एउटा प्रमुख सत्य के बनेको छ भने इश्लामिक गणतन्त्र इरानसँग अमेरिका सधैँ पराजित बनेको छ र इरान विजयी बनेको छ ।”

अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि इरानमाथि विभिन्न बिषयमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाको पछिल्ला निर्णयहरूले सम्झौताका हस्ताक्षरकर्ता तथा विश्वका प्रभाबशाली राष्ट्रहरू खुशी छैनन् । इरान भने आणविक सम्झौताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

वासिङ्टनले भने पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको उक्त सम्झौता नमान्ने तर पुनः अर्को नयाँ सम्झौता गर्नुपर्ने बताउँदै आएको छ । नयाँ सम्झौतामा इरानले मध्यपूर्वमा गर्दै आएको हस्तक्षेप तथा हतियार आपूर्तिजस्ता मिसाएल कार्यक्रमलाई घटाउनुपर्ने अमेरिकी ट्रम्प प्रशासनको जिकिर छ । यो मागलाई तेहरानले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार ०९:०५