२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै संवेदनशील हुन विश्व हिन्दु महासंघको अपिल

१० असाेज, काठमाडाैं । विश्व हिन्दु महासंघले धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै संवेदनशील हुन अपिल गरेकाे छ । महासंघमा आवद्ध र महासंघप्रति सद्भाव राख्ने नेपालमा क्रियाशील विभिन्न धार्मिक संघसंस्थाहरूको सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै महासंघले धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै संवेदनशील हुन सरकारलाई आग्रह गरेको हाे ।

महासंघले बिगत केही दिन यता नेपालकाे धरान र झापामा भएको गौहत्या एवं गोमांस भक्षणको जघन्य अपराधको घटनापछि देशभर सबैतिरबाट उठेका सनातन हिन्दु समाजका सद्भाव र्‍याली र कार्यक्रमलाई उच्च सम्मान गर्दै गौहत्यारा र गोमांस भक्षणमा संलग्न अपराधीलाई कडा कानूनी कारबाहीको माग गरेकाे छ ।

हिन्दु समुदायप्रति एकपछि अर्को आक्रमणका घटनाहरू बढेर गइरहेको अवस्थामा सामाजिक एवम् धार्मिक द्वेष फैलाउने र हिन्दु धर्मावलम्बीहरूको भावनामा चोट पुर्‍याउने घटनाको सम्बन्धमा सरकार भने मुकदर्शक भएर बसेको महासंघले आरोप लगाएको छ ।

‘परम्परादेखि कायम रहिआएको सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुतालाई निरन्तर कायम राख्दै संवेदनशील भएर अगाडि बढ्न नेपाल सरकार र सम्पूर्ण धार्मिक समाजलाई हार्दिक आह्वान गर्दछौँ,’  महासंघले जारी गरेकाे  विज्ञप्तिमा भनिएको छ ।

यस्ताे छ विश्व हिन्दु महासंघले जारी गरेकाे विज्ञप्तिः

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:५६