३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

दीपेन्द्रको कीर्तिमानः बने टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी

१० असोज, काठमाडाैँ । नेपालका दीपेन्द्र सिंह ऐरीले कीर्तिमान बनाएका छन । चीनको हान्झाउमा भैरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा दीपेन्द्रले नयाँ कीर्तिमान बनाएका हुन । उनी टी–२० मा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

दीपेन्द्रले मंगोलियासँगको खेलमा ९ बलमै अर्धशतक प्रहार गरे । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमै पूरा गरेका थिए । दीपेन्द्रले अन्तर्राष्ट्रिय कुनै पनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने । नेपालबाट यसअघि ज्ञानेन्द्र मल्लले १८ बलमा अर्धशतक पूरा गरेका थिए ।

यस्तै नेपाली टिमका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा यसअघि ३५ बलमा शतक बनेको थियो । ३५ बलमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिनका सुदेश बिक्रमशेखरले प्रहार गरेका थिए । तर, टी–२० क्रिकेटमा क्रिस गेलले ३० बलमै शतक बनाएका छन् । बेंग्लोरबाट खेलेका उनले आईपीएलमा सन् २०१३ मा पुणे वारियर्ससँगको खेलमा ३० बलमा शतक बनाएका थिए । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १०:११