२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

इजरायल–साउदी सम्बन्ध सामान्य बन्दै

९ असोज, जेरिको (प्यालेस्टिनी क्षेत्र) । इजरायल र साउदी अधिराज्यबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासले गति लिएको छ । अमेरिकी मध्यस्थतामा इजरायलसँग वार्तामा बस्न सहमत भएको साउदी अरबको एउटा प्रतिनिधिमण्डल मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा आइपुगेको छ । जोर्डनबाट सतहमार्ग हुँदै प्रतिनिधिमण्डल जेरिको आइपुगेको हो । साउदी प्रमण्डलले इजरायली भूमिहुँदै प्यालेस्टिनी क्षेत्रमा तीन दशकपछि पहिलो पटक प्रवेश गरेको हो ।

प्यालेस्टिनी क्षेत्रका लागि साउदी गैरआवासीय राजदूत नाइफ अल–सुदैरीको नेतृत्वमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र प्यालेस्टाइनका शीर्ष कूटनीतिज्ञ रियाद अल–मलिकीलाई भेट्ने कार्यक्रम छ । जोर्डनका लागि साउदी अधिराज्यका राजदूत सुदैरीलाई गत महिना प्यालेस्टिनी क्षेत्रको पनि जिम्मेवारी दिइएको हो । उहाँ जेरुसेलमका लागि ‘कन्सल जनरल’ पनि हुनुहुन्छ । मध्यपूर्वमा दिगो शान्ति कायम गर्ने अमेरिकी सक्रियताको परिणमस्वरुप साउदी प्रमण्डलको भ्रमण भएको हो ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले सन् १९९३ मा भएको ओस्लो सम्झौता कार्यान्वयनको एक हिस्साका रुपमा पनि यो भ्रमणलाई लिइएको छ । इजरायलले २०२० मा संयुक्त अरब इमिरेट्स, बहराइन र मोरक्कोसँग सम्बन्ध स्थापना गरेकामा साउदीले प्यालेस्टिनी द्वन्द्व समाधान नभएसम्म कूटनीतिक रुपमा अघि नबढ्ने बताउँदै आएको छ । यद्यपि रियादले जेरुससलेमसँग सम्बन्ध स्थापनाको सिलसिलालाई भने अघि बढाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १६:४९