२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु

९ असोज, काठमाडौँ । खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा संलग्न तीन वटै तहका सरकार, विभिन्न सरकारी निकाय, निजी एवं गैरसरकारी क्षेत्र, नागरिक समाज, विज्ञ तथा विकास साझेदार क्षेत्रका प्रतिनिधिसहित दुई सयभन्दा बढी प्रतिनिधिको सहभागितामा सम्मेलन शुरु भएको हो ।

खानेपानी मन्त्रालयको आयोजनामा आजदेखि शुरु भएको ‘खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा’सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनले यस क्षेत्रमा हालसम्म भएका गतिविधि र उपलब्धिको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेछ । सम्मेलन कार्यवाहक खानेपानी मन्त्री एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन् । उनले सम्मेलनको निष्कर्षले खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा गर्नुपर्ने कामका लागि दिशानिर्देशन गर्ने आशा व्यक्त गरेका छन् ।

खानेपानी मन्त्रालयका सचिव राम आधार साहले सम्मेलनले खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रका सवल र दुर्वल पक्षको समीक्षाका साथै चुनौती र अवसरको लेखाजोखा गर्ने, क्षेत्रगत सुधारका लागि जवाफदेहिता तथा प्रमाणमा आधारित निर्णय गर्दै सरोकारवालाको सहभागितामा दीगो रणनीति विकासमा सहयोग गर्ने जानकारी दिए । उनले सामुहिक प्रयास र प्रतिबद्धताका कारण खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा महत्वपूर्ण काम भएको र अझै बाँकी रहेका कामलाई प्रभावकारी कार्यान्वनयका लागि संयुक्त अभ्यास जारी राख्नुपर्नेमा जोड दिए ।

त्यसलाई यो सम्मेलनको निष्कर्षले महत्वपूर्ण आधार तयार पार्ने उनले बताए । सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी रणनीति कार्यक्रम, आयोजनाको विस्तृत विष्लेषण गरी आगामी रणनीति घोषणा पनि गर्नेछ । सम्मेलनमा शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले नेपालमा कानुन, नीति नियम प्रशस्त रहेको र त्यसले आफैँलाई बाँधिरहेको उल्लेख गर्दै असम्भव योजना राख्नुभन्दा गर्न सक्ने कामको योजना बनाएर कार्यान्वयन गर्न सुझाव दिए ।

खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले आज पहिलो दिन विषयगत क्षेत्रबारे प्रस्तुत कार्यपत्रमाथि विष्लेषण र समीक्षा गर्ने र भोलि दोस्रो दिन समीक्षाबाट आएको निष्कर्षका आधारमा आगामी दिनमा गर्नुपर्ने विषयबारे निष्कर्षसहितको घोषणापत्र सार्वजनिक गरिने बताए । उनले सन् २०३० सम्ममा स्वच्छ खानेपानी उपलब्ध गराउने दीगो विकास लक्ष्य पूरा गर्न सम्मेलनले मार्गनिर्देश गर्ने बताए ।

त्यही लक्ष्य पूरा गर्न सम्मेलनले ठोस रणनीति तय गर्नेछ । यसअघि प्रदेशगतरुपमा समीक्षा गोष्ठी सम्पन्न गरी देशभरका प्रतिनिधि सहभागि भई राष्ट्रिय सम्मेलन आयोजना गरिएको र यसको निष्कर्षलाई आगामी १६औँ पञ्चवर्षीय योजनामा समेट्ने प्रयास गरिने जनाइएको छ । यसअघि सन् २०११ र २०१४ मा यस्तै सम्मेलन गरिएको थियो । हालसम्म चार सयभन्दा बढी पालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता(वास)सम्बन्धी योजना बनाइसकेका छन् ।

सरकारले यस वर्ष राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने घोषणा पनि गरिसकेको छ । सम्मेलनको पहिलो दिन आज मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठले खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी हालको अवस्थाबारेमा जानकारी गराए । सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद आचार्यले यससम्बन्धीका कानुनी प्रावधान र कार्यान्वयनको अवस्थाबारे जानकारी गराए ।

सम्मेलनमा युनिसेफ नेपालका कार्यक्रम उपप्रतिनिधि जी ह्यून रहले यस्ता कार्यक्रमहरु समावेशिता र सीमान्तकृत समुदायलाई प्राथमिता दिने गरी अघि बढाउनुपर्नेमा जोड दिए । उनले कानुनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी, लगानी बढाउँदै संयुक्त प्रयासबाट खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा काम हुनुपर्ने सुझाव दिए ।

सम्मेलनमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस क्षेत्रका हरेक पूर्वाधार विपद् व्यवस्थापनलाई ध्यानमा राखेर निमाण गर्नुपर्ने बताए । नेपालमा ९५ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । त्यसमध्ये २६ प्रतिशतमा ट्रिटमेन्ट प्लानसहितको खानेपानी सुविधा छ । सरसफाइतर्फ ९५ प्रतिशतमा शौचालय सुविधा बनिसकेको छ भने त्यसमध्ये १० प्रतिशत ढलसहितको व्यवस्थापन गरिएको छ । –

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १५:४५