नेपालीको पहुँचबाहिर सिकार
९ असोज, गण्डकी । ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य भए पनि नेपालीका लागि भने त्यहाँको सिकार अनुभव लिनु धेरै टाढाको विषय बनेको छ । नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ । लाखौँ रुपैयाँ राजस्व तिरेर गरिने नाउर र झारलको सिकार त नेपालीका लागि झनै पहुँचबाहिर छ । गत आवको पहिलो सिकार याम (असोज–मङ्सिर)मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारमा नेपालीलाई आकर्षित गर्न पहिलोपटक ११ बँदेलको सिकार कोटा तोकेको थियो ।
उक्त याममा तीन नेपालीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि पछि सिकार खेल्न भने गएनन् । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले गत आवको दोस्रो सिकार याम (फागुन–वैशाख)मा पनि बँदेलको सिकार हुन नसकेको बताए । चालु आवको पहिलो सिकार याममा पनि बँदेलका लागि नेपाली सिकारीबाट आवेदन नपरेको उनको भनाइ छ । नाउर र झारल सिकारका लागि भने यही असोज १८ गतेदेखि विदेशी पेसेवर सिकारी आरक्ष क्षेत्र पुग्दैछन् ।
“महँगो शुल्क र झन्झटिलो प्रक्रियाका कारण बँदेल सिकारमा नेपालीको रुचि देखिएन”, प्रमुख संरक्षण अधिकृत कँडेलले भने, “नेपालीलाई सिकार खेल्न हतियारको पनि समस्या छ ।” विदेशीलाई सिकार खेलाउँदै आएको सिकार कम्पनी ट्र््याक एन्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले लामो दूरीमा प्रहार गर्न सक्ने हतियार नेपालीसँग नरहेको बताए । “बँदेललाई पछ्याउन गाह्रो हुन्छ, टेलिस्कोपसहितको हतियार चाहिन्छ”, उनले भने, “नेपालीका लागि शुल्क पनि महँगो भयो, बँदेल सिकार प्रभावकारी हुन सकेन ।
” विभागले बँदेलका लागि सिकार आवेदनमा रु पाँच हजार, सिकार अनुज्ञापत्र लिँदा रु १० हजार र एक हप्ताका लागि सिकार ब्लक रिजर्भ गर्दा रु १५ हजार शुल्क तोकेको थापाले बताए । “राजस्वबाहेक यातायात, खाना र बासको व्यवस्था गर्नुपर्छ, एउटा बँदेलको सिकार खेल्दा झन्डै रु एक लाख खर्च हुन्छ”, उनले भने, “सौखिन र खर्च गर्न सक्ने नेपालीलाई पनि बँदेल सिकार त्यति सहज छैन, बँदेल प्रायः साँझ र रातिमा सक्रिय हुने हुँदा ट्र्याक गर्नै गाह्रो हुन्छ, नेपालीसँग आधुनिक हतियार पनि छैन ।” थापाका अनुसार नाउर र झारल सिकार गर्ने विदेशी सिकारीले प्याकेजमा बँदेल पनि सिकार गर्न पाइने भए पनि खासै रुचि नदेखाउने गरेको बताए ।
“विदेशीहरु नाउर र झारलको सिकारका लागि महँगो शुल्क तिरेर आएका हुन्छन्, उनीहरु त्यसमै रमाउँछन्”, उनले भने, “नेपालीलाई बँदेल सिकारमा आकर्षित गर्ने हो भने शुल्क घटाउनुपर्छ र प्रक्रिया पनि सहज बनाउनुपर्छ ।” सुरुमा केही नेपाली सिकारीले सिकार खेल्न चाहेको भए पनि पछि सम्पर्कमा नआएको उनले उल्लेख गरे । सिकार कम्पनीहरुले विभागसमक्ष बँदेलका लागि तोकिएको शुल्क कम गर्नुपर्ने माग गर्दै आएका छन् । नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येयले विभागले बँदेलको सिकार खुला गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
बँदेलको व्यवस्थित सिकार हुन सके स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्धमा पनि सहजता थपिने विश्वास लिइएको उनको भनाइ छ । “बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउने ठानिएको छ”, उनले भने, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।” नाउर र झारल सिकारबाट विभागले बर्सेनि कराडौँ रुपैयाँ राजस्व उठाउँदै आएको छ । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि नपुगेको स्थितिमा विभागले गत वर्ष पहिलोपटक नेपालीलाई लक्ष्य गरि बँदेलको सिकार खुला गरेको थियो ।
विदेशी पेसेवर सिकारीले मात्र आरक्षमा सिकार खेल्दै आएका छन् । बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले बर्सेनि दुई याममा सिकार खेलाउने गर्छन् । नाउर र झारल सिकारका लागि विदेशी सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्ने गर्छन् । चालु आवको पहिलो सिकार याम (असोज–मङ्सिर)मा एउटा नाउरको न्यूनतम रु पाँच लाखदेखि बढीमा रु १३ लाखसम्म राजस्व बुझाएको आरक्ष कार्यालयले जनाएको छ । झारल सिकारमा भने बढीमा रु पाँच लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएका थिए ।
यो याममा विभागले नौ नाउर र सात झारलको सिकार अनुमति दिएको छ । हतियार र बन्दोबस्तीसहित सिकारमा जाने तयारीमा कम्पनी छन् । ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि थापाले आफूहरु कात्तिक पहिलो हप्ता आरक्ष क्षेत्रमा पुग्ने बताए । उनको कम्पनीमार्फत जमर्न र बेलारुसका सिकारी ढोरपाटन पुग्दैछन् । उनीहरुले तोकिएको सिकार ब्लकमा दुई नाउर र दुई झारलको सिकार खेल्ने कम्पनीले जनाएको छ । सिकारीसहित कम्पनीका प्रतिनिधि, आरक्षका कर्मचारी, पथप्रर्दशक, भरिया लगायतका टोली सिकार ब्लकमा पुग्ने गरेका छन् ।
आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् । आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र््याक एन्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । विदेशीहरु ‘हन्टिङ ट्रफी’का लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको ट्र््याक एन्ड ट्रेल्र्सका प्रतिनिधि थापाले बताए । आरक्षमा रतुवा मृग, चरालगायत अरू वन्यजन्तु र पक्षीको समेत सिकार गर्न पाइने भए पनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ ।
सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । उनीहरु हेलिकप्टर चार्टर गरेर सिकार आरक्ष पुग्छन् । आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।
प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १२:५९