२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काठमाडौंका यी सडकमा सवारी प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महानगरकाे आग्रह

९ असाेज, काठमाडाैं । इन्द्रजात्राका अवसरमा काठमाडाैंका विभिन्न ठाउँका सडकहरु अवरुद्ध हुने भएका छन् । काठमाडाैं महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै इन्द्रजात्राका अवसरमा काठमाडाैंका विभिन्न ठाउँका सडकहरुमा यातायात आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

इन्द्रजात्रा (यँया) पर्व आजबाट मंगलबारबाट सुरु भएको छ। काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको इन्द्रजात्राका क्रियाकलापहरु सुरु भएकाले विभिन्न क्षेत्रमा सवारीसाधनको प्रवेश बन्द गरिएको  महानगरले जनाएकाे छ । जात्राका सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलापहरु हिँडेर सञ्चालन हुने भएकाले यी क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारीसाधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउन महानगरले आग्रह गरेको छ।

असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार ११:१६