२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै

८ असोज, चितवन । यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो । भरतपुर महानगरपालिका– २ मा बाँझो रहेको जमिनको तथ्याङ्क लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो । वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका १८ वटा टोलसँग बाँझो जमिनको तथ्याङ्क मागिएको थियो । तीमध्ये १० वटा टोलको जमिनको तथ्याङ्क आइसकेको छ ।

तथ्याङ्क प्राप्त भएको मिल्स एरिया र रामेश्वर टोल विकास संस्थाभित्रको बाँझो जमिनमा आजदेखि डोजर लगाएर झाडी फाँडेर खेती गर्न मिल्ने बनाउन थालिएको छ । उनका अनुसार ती जमिनमा समूहगतरुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ । आमासमूह, टोल सुधार संस्थाजस्ता संस्थालाई जग्गा धनीले कुनै कामका लागि फिर्ता मागेको समयमा दिने गरी संस्थालाई सम्झौता गरेर जग्गा दिन लागिएको हो । वडाभित्र रहेका ठूला प्लटमा फूल र तरकारी खेतीका लागि संस्थागतरुपमा जग्गा माग्ने क्रमसमेत सुरु भएको छ ।

क्रमशः वडाभरि नै झाडी फाँडेर खाली जमिन सङ्घसंस्थालाई खेतीका लागि दिइनेछ । यसरी खेती गर्नेले जग्गाधनीलाई कुनै भाडा तिर्नु पर्दैन । रानाभाटले भन्नुभयो, “हामी वडालाई नमुना बनाउने गरी काम अघि बढाउदैछौँ ।” जनघनत्व राम्रो भएको यस वडामा घरबाहेकका क्षेत्रमा जग्गा बाँझो छाडेर झाडीमा परिणत भएको छ । बाँझो जमिनको झाडी फाडेर खेती लगाएमा यसले सरसफाइ र सुन्दरता पनि दिने उनले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १८:३०