२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

८ असोज, सिमकोट, (हुम्ला) । साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगाँैडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ । अविरल वर्षाले बोक्चेगौँडा, सुनाखाडा, लालीबगर, मुसेडी छारेलगायत ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डमा सवारीसाधन सञ्चालनमा नआए पनि दैनिक आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई समस्या भएको छ । यी क्षेत्रमा वर्षाले ठाउँ–ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएको वडा नं १ पिउस गाउँका भैरव शाहीले बताए ।

अवरुद्ध सडक तथा बाटो खुलाउन सरोकारवाला निकायले कुनै चासो नदिएको सर्वसाधरणको गुनासो थियो । सडक अवरुद्धसँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ भने बाटो अवरुद्ध हुँदा यस क्षेत्रका सर्वसाधारण र बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको छ । विभिन्न ठाउँमा सडक माथिबाट भासिँदा सदरमुकाम जान र दक्षिणी क्षेत्रका गाउँपालिकामा जानसमेत थप समस्या भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका नरबहादुर भण्डारीले बताए ।

आफू सिमकोटबाट कामको सिलसिलामा चङ्खेली गाउँपालिकामा जानेक्रममा विभिन्न ठाउँमा भत्किएको सडकबाट जोखिम मोलेर जानुपरेको उहाँको गुनसो थियो । चङ्खेली पुग्न सिमकोटबाट दुई दिन लाग्छ । बाटो खुलाउन अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन समिति, खार्पुनाथ गाउँपालिका र हिल्सा सिमकोट सडक योजनाले कुनै चासो दिएको छैन । वर्षाले यसखण्डका विभिन्न ठाउँमा पहिरोले सडक भत्किदा सलिसल्लादेखि सिमकोटसम्म ढुवानी गर्दै आएका खच्चडलाई पनि आवत जावत गर्न समस्या भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १८:२६