२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रामपुरमा टोलटोलबाटै भत्ता वितरण

८ असोज, रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने नगरपालिकाले जनाएको छ । बैंकको पहुँचदेखि टाढा रहेका वडा नं १, ९ र १० का ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम सुरु गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

“पालिकाको केन्द्र तथा बैंकको पहुँचदेखि टाढा रहेका ज्येष्ठ नागरिकलाई भक्ता लिन आउनजान धेरै समस्या भएकाले टोलटोलमा जनशक्ति परिचालन गरेर भत्ता उपलब्ध गराउने छौँ”, उहाँले भन्नुभयो । थापाका अनुसार नगरपालिकाले कृषि विकास बैंकसँग समन्वय गरेर टोलमा भत्ता वितरण गर्नेछ । पालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने जनाइएको छ । बैंकको रामपुर शाखाले वडा नं १ को कार्यालयबाट बैंक खाता खोल्न सुरु गरेको नगर प्रवक्ता तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए ।

उनका अनुसार पहिलो दिन वडा नं १ को साँखर्दी, कुमैडाँडा, कठैडाँडा, मकैडाँडा, फुकलडाँडा, क्वाङ क्वाङ, गजबन्दी लगायतका स्थानका ९२ नागरिकको खाता खोल्ने काम भएको छ । यस वडामा चार सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता सुविधा लिँदै आएका वडाध्यक्ष खाणले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १४:५३