तीन वाणिज्य बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने
७ असाेज, काठमाडाैं । तीन वाणिज्य बैंकहरूले आफ्ना सेयरधनीलाई दशैंखर्च उपलब्ध गराउने भएका छन् । माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै आफ्ना सेयरधनीकाे खातामा लाभांश बापतको दक्षिणा बैंक खातामा जम्मा गर्ने भएका हुन् ।
माछापुच्छ्रे बैंकले दसैंअघि नै आफ्ना सेयरधनीलाई दशैंखर्च दिनका लागि असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ । आजसम्म बैंकको सेयर खरिद गर्ने सेयरधनीहरूले मात्र बैंकले वितरण गर्ने उक्त लाभांश पाउने छन् ।
माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै सेयरधनीलाई नगद लाभांश दिन असोज २६ गते साधारणसभा बोलाएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै, एनआइसी एशिया बैंकले पनि आफ्ना सेयरधनीलाई दशैंखर्च दिनका लागि असोज २८ गते साधारणसभा बोलाएको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । याे बर्षकाे दसैंको टिका कात्तिक ७ गते परेको छ । त्यसअघि नै यी तीन बैंकहरूले वार्षिक साधारणसभाबाट पारित गरेर आफ्ना सेयरधनीलाई दक्षिणा स्वरुप बोनस र नगद लाभांश वितरण गर्ने तयारी गरेका छन् ।
प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १४:२२