२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

एमाले बागमती अधिवेशनः ओलीको नाम बेच्नेमाथि खतराको संकेत, सहमति भए पाण्डे कि सानु ?


-पवित्रा मुडभरी

७ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशन यही असोजको ८ र ९ गते काठमाडौँमा हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा आइपुग्दा नेतृत्वको दौडधुपमा मुख्य रूपमा चार नेता देखिएका छन । वर्तमान अध्यक्ष केशवराज पाण्डेसहित केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल अहिले बागमती प्रदेशको अध्यक्षका मुख्य आकांक्षी देखिएका छन । यद्यपी सहमतिको प्रयास गर्नुपर्ने भन्दै बामगती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले आफू पनि दाबेदार रहेको बताइरहेका छन । श्रेष्ठले भए आफू नभए वर्तमान अध्यक्ष पाण्डेकै नाममा भए पनि सहमति गरेर अघि बढ्नुपर्ने निकटहरूसँग बताउने गरेका छन ।

राजनीतिसँगै पछिल्लो समय ठेक्कापट्टामा पनि जोडिएका रामेछापका कैलाश ढुंगेल र उनी निकटहरूले बालकोटको आशिवार्द पाएको भन्दै अहिले तीब्र प्रचार गराइरहेका छन । यस प्रचारको मुख्य अभियन्ता पोलिटब्यूरो सदस्य महेश बस्नेत छन । बस्नेतले आफूलाई भेट्न आउने र भेटिनेहरूलाई माथिको लाइन प्रष्ट भैसकेको भन्दै कैलाशलाई सहयोग गर्नुपर्ने बताउने गरेका छन ।

कैलाश निकटकाहरूले कतिपयले शुक्रबार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलको पार्टी मुख्यालयमा वरिष्ठ र केही उपाध्यक्षसहित छलफल गरेर ढुंगेललाई अघि बढाउन निर्देशन दिएको दाबी समेत गरेका छन । त्यस्तो दाबी सुनेपछि केही नेताले पुष्टिका लागि ओली निवास बालकोट पुगेर अध्यक्षसँग परामर्श समेत गरेका छन ।

बालकोट पुगेर अध्यक्ष ओलीसँग कुरा गरेका एक केन्द्रीय नेताले दैनिकीसँग कुरा गर्दै ओली लुम्बिनीको नतिजाबाट त्रसित देखिएको बताए । ओलीलाई उधृत गर्दै ती नेताले दैनिकीसँग भने ‘लुम्बिनीमा केही नेताको बीचमा मात्र हरि रिजाललाई अध्यक्ष बनाउनु भनेको हुँ तर मैले नै प्यानल बनाएको र मैले नै एमालेभित्र हारेको जस्तो प्रचार भयो । बागमतीमा म त्यो अपजसको भारी बोक्न चाहन्न मैले कसैलाई पनि तिमी अध्यक्ष वा फलानो पदमा भनेको छैन । अधिवेशनबाट जो निर्वाचित हुन्छ त्यही मेरो अध्यक्ष हो । मेरो नाम बेच्नेहरूसँग सावधान रहनुहोला ।’

यता कैलाश अध्यक्षका उम्मेदवार हुने निश्चित जस्तै भएपछि रामेछापकै केशर बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै बुढाथोकीले मत नै मागिसकेका छन । उनको यो उम्मेदवारी कैलाशलाई रोक्नका लागि भएको रामेछापकै एमाले नेताहरू बताउँछन । ती नेताका अनुसार रामेछापका करिब ५५ प्रतिशत प्रतिनिधि कैलाशकै पक्षमा रहेको दाबी गर्छन ।

एमाले मुख्यालय च्यासलमा बागमती प्रदेशको अधिवेशनमा प्रतिनिधि भएर आएकाहरू र केन्द्रीय नेताहरूको प्रतिक्रिया सुन्दा केही नेताले कैलाश ढुंगेल चाहेको तर प्रतिनिधिले नचाहेको देखिन्छ । ढुंगेल नै चाहने नेताहरू पनि चुनावी प्रतिस्पर्धामा जाँदा उनलाई जिताउने ग्यारेन्टी गर्न सक्ने स्थिति नरहेको र पार्टी संस्थापनका नाममा लुम्बिनीमा भन्दा ठूलो बेइजतपूर्ण सन्देश प्रवाह हुने भन्दै डराइरहेको देखिन्छ ।

यता अध्यक्षको उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँगै मैदानमा रहेका मकवानपुरका कृष्ण दाहाल उपयुक्त पात्रको नाममा सहमति भएको अवस्थामा बाहेक प्रतिस्पर्धामा जाने बताइरहेका छन । उनले नेताले उठ भन्दा उठ र बस भन्दा बस नगर्ने भन्दै मैदान नछाड्ने प्रष्ट संकेत दिएका छन । दाहालले दैनिकीसँग कुरा गर्दै भने,  ‘म धेरै नेता कार्यकर्ताको अनुरोध र शुभेच्छाका कारण प्रतिनिधि बनेर अधिवेशनमा आएको हुँ  ।  अब मैले को नेताले के भन्छ भनेर कुर्ने होइन ती प्रतिनिधि साथीहरूको इच्छा र चाहनामा अघि बढ्ने र पार्टीलाई अघि बढाउने हो ।  बहुमत प्रतिनिधिले तँ चुनाव नलड भनेमात्र सोच्ने कुरा आउला नत्र म अध्यक्षको उम्मेदवारको रूपमा मैदानमा छु मलाई सहयोग गर्नुहोला ।’

शीर्ष नेताले तपाईलाई फकाउलान नि त भन्ने दैनिकीको प्रश्नमा दाहालले भने, ‘फकाउने, गलाउने जिताउने जे भए पनि प्रतिनिधिको काम हो । अब त्यतै लागियो । धेरैसँग मत मागिसकेको छु । पछि फर्किने अवस्था छैन। यो संसद होइन अधिवेशन हो भनेर बुझिदिन नेताहरूलाई अनुरोध गर्दछु ।’ दाहालले  कार्यकर्ताको विवेक पुर्याउने हुँदा दृढ विश्वासका साथ मैदानमा उत्रिएको बताए ।

त्यस्तै अध्यक्षको प्रतिस्पर्धामा रहेका नुवाकोटका केशवराज पाण्डेले अधिवेशनले सहमतिमै नेतृत्व चयन हुने दाबी गरेका छन । उनले अधिवेशन तयारीको पूर्वसन्ध्या भएको पत्रकार सम्मेलनमा अधिवेशनले सहमतिमै एकतावद्ध नेतृत्व चयन गर्ने बताए । पाण्डेले त्यसरी चयन हुने सहमतिको अध्यक्ष आफैँ हुने निकटकाहरूसँग बताउने गरेका छन ।

कतिपय शीर्ष नेताले दुई केन्द्रीय सदस्य ढुंगेल र दाहालको लडाईं रोक्न पनि पाण्डेलाई नै अध्यक्षमा निरन्तरता दिनुपर्ने मत राखेका छन । पाण्डे पनि नुवाकोट भूगोल भएका तीन नेताले असहयोग नगरे अधिवेशनको हलबाट सहमतिको अध्यक्ष आफैँ हुनेमा आशावादी रहेका छन । यद्यपी तीन मध्येका दुईले बालकोट पुगेर अध्यक्षको कान फुकेको सूचना दैनिकीले प्राप्त गरेको छ । पाण्डे निकटकाहरूले उनलाई महासचिव शंकर पोखरेल लगायतले बागमतीमा अझै आवश्यकता रहेको भन्दै समर्थनको संकेत दिएको दाबी गरिरहेका छन ।

यता बागमतीका पूर्व सभामुख समेत रहेका काठमाडाैँका सानुकुमार श्रेष्ठले आफू अन्तिमसम्म पनि सहमतिमा नेतृत्व चयनका लागि पहल कदमी गर्ने बताउँदै आएका छन । उनले केही नेताको लडाईमा आफूले जित्न सकिने विश्वास बोकेको देखिन्छ । उनले अन्य नेता र प्रतिनिधिहरूसँगको कुराकानीमा आफू पनि अध्यक्षको उम्मेदवार रहेको र पछि नहट्ने बताउँदै आएका छन ।

दैनिकीको सम्पर्कमा रहेका एमालेका एक प्रभावशाली पदाधिकारीले निर्वाचनबाटै नेतृत्व चयन हुने अवस्थामा केन्द्रीय सदस्यद्धय ढुंगेल र दाहालको बीचमा प्रतिस्पर्धा हुने र सहमतिमा चयन हुने पाण्डे वा श्रेष्ठ मध्येबाट सम्भावना रहेको बताए । उनले यसैमा तेस्रो व्यक्तिको प्रवेश पनि हुन सक्ने सम्भावना रहेको पनि बताए ।

चितवन दोहोरिने संकेत 

अहिलेसम्मको अधिवेशनको तयारी हेर्दा प्रतिनिधिले भन्दा पनि केन्द्रीय नेतृत्वले प्रदेशको नेतृत्व चयन गर्ने सम्भावना उत्तिकै देखिन्छ । त्यस्तो अवस्थामा पार्टी अध्यक्षदेखि महासचिवसम्मको म्याडेन्डट पाउने उम्मेदवारको नामसहित सहमतिको नाममा अधिवेशनको हलभित्रै प्यानलको नाम प्रस्तुत हुने सम्भावना रहेको छ । पार्टी हेडक्वार्टरमा सचिवालय चलाइरहेका नेताहरूले अधिवेशनको बन्द हलमा प्यानल घोषणा नगर्दा आफूहरूले समर्थन दिएको उम्मेदवारले जित्न नसकेको निष्कर्ष निकालेका छन । त

त्यस्तो अवस्थामा प्यानलमा नपर्नेहरूलाई मत नदिनु भन्ने पुर्जी बाँडिने जोखिम रहन्छ । जुन चितवनपछि लुम्बिनीमा पनि केही देखिएको थियो । एमालेमा ११ औँ महाधिवेशनको तयारी भैसकेको भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको बीचमा समूह निर्माण भएको भन्दै नेता कार्यकर्ताले पक्षधरता प्रस्तुत गरिरहेका छन । अहिले एमालेमा पौडेल र पोखरेलको समूहको प्रतिस्पर्धा ओपन सेक्रेटजस्तै छ । तर अहिलेसम्म पौडेल र पोखरेल त्यसको जिम्मा लिन तयार देखिएका छैनन् ।

प्रदेश अधिवेशनका लागि  १२५ सदस्य संगठित सदस्य बराबर एक प्रतिनिधि चयन हुने मापदण्डमा १३ जिल्लाबाट एक हजार ८० जना प्रतिनिधि छनोट भएका छन ।  छनोट भएका प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका युवा करिब १० प्रतिशत रहेको दाबी गरिएको छ । ४४७ सदस्यीय रहेकोमा अहिले कमिटी अधिवेशनले ५ जना पदाधिकारीसहित २४० सदस्यीयमा झर्नेछ । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच जनाले प्रदेश कमिटी सदस्य हुने अवसार पाउनेछन भने बाँकीले पहुँच वा प्रतिनिधिको मन जितेर अवसर प्राप्त गर्नेछन ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार ०८:२९