३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

विकास र सुशासनका लागि लागिरहन्छु : राष्ट्रपति पौडेल

६ असोज, दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताए । दलीय राजनीतिमा नलाग्ने भन्दै उहाँले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए । तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए । राष्ट्रपति पौडेलले भन्नुभयो, “देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ ।

विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।” सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गरे । संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे । उनले भने, “परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।” सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे ।

व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताए । राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको भनाइ राखे । सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने धारणा राखे । उनले भने, “दुई ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ । सबै दल मिले मात्रै देश बलियो हुन्छ ।” सो अवसरमा शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव रहेको उल्लेख गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको बताए । यो देशमा केही हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै उहाँले नैराश्यताको फाइदा उठाएर गलत काम गर्नेहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले कुशासनले विकास रोकिएको बताए ।

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले असमझदारीले मुलुक पछाडि परेकाले सबै दलबीच एकता आवश्यक रहेको धारणा राखे । काठमाडौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले समयमा काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले समृद्ध तनहुँका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको भनाइ राखे । शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह निर्माण भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । सभागृहमा पाँच सय ९३ जन अट्ने क्षमताको सभाहल छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण भएको छ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङ स्थल समेत रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार १७:५८