२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

यस्तो देखियो एउटा प्रवासी तिज


अष्ट्रेलिया। नेपालीहरुको संख्या बढे संगै प्रवासका चाड पर्वहरुमा समेत नेपालमा झै रौनक देखिन थालेको छ ।

भाद्र शुक्ल तृतियामा मनाइने पर्व अर्थात नेपाली नारीहरुको पर्व हरितालिका तिजका अबसरमा अष्ट्रेलिया सबै राज्यहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यसै क्रममा पछिल्लो समय नेपालीहरुको उल्लेखनीय रुपमा वृद्धि भै रहेको राज्य साउथ अष्ट्रेलियाको राजधानी एडिलेडमा भाद्र शुक्र तृतियाकै दिनमा अर्थात तिजकै दिनमा एक भव्य तिज मेला सम्पन्न भएको छ ।

साउथ अष्ट्रेलियाका क्रियाशिल मध्येको सबै भन्दा पुरानो संस्था एडिलेड नेपाली समाजले विगतमा भन्दा फरक ढंगबाट तिज कार्यक्रम आयोजना गरेको थियो । स्थानिय कसग्रोभ सभा हल एवं परिसरमा आयोजित कार्यक्रममा १२०० भन्दा बढि सहभागिता जनाएका छन् । तिजकै दिनमा बर्त बसेर घरमा बस्नु पर्ने अबस्थालाई अन्त्य गर्दै समाजले पुजा सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोमा भक्तजनहरुले खुशी व्यक्त गरे । भर्खरै एडिलेड आएकी मोरङकी बन्धना निरौलाले परदेशको पहिलो तिज नेपाल जस्तै गाउमा जस्तै मनाएको बताईन । उनले पण्डितहरुबाट पुजा समेत सम्पन्न गरेको बताईन । अष्ट्रेलिया भ्रमणमै रहेकी नर्थ एडिलेडबाट स परिवार कार्यक्रममा सहभागी अभिभावक सिता घिमिरे हल परिसरमा पुजा सकेर हलमा नेपाली भाकामा गित सुन्दै नाच्दै तिज मनाउने व्यवस्था गर्ने समाजलाई धेरै आभारि भएको बताईन । अर्की सहभागी साधना अधिकारीले विगत बर्षहरुमा एडिलेडका हिन्दु मन्दिरहरुमा पुजा गरेर मनाउदै आएकोमा यस बर्ष समुदाय संगै मनाउन पाउदा छुट्टै रमाइलो भएको अनुभव सुनाईन । छेउमै रहेका साधनाका पति एकै ठाउमा पुजा गर्ने नाच गान गर्ने र वर्त सकेर नि शुल्क रुपमा प्रसाद ग्रहण गर्ने व्यवस्था चाहि नेपाल भन्दा पनि राम्रो लागेको बताए ।

हल परिसरमा निर्माण गरिएको जग्गेमा ब्रतालुहरुलाई एडिलेडमा विगत केहि बर्ष देखि धार्मिक कार्यहरु गराउदै आएका उद्धब खतिवडा र शास्त्री संभव सुवेदीले बैद्धिक विधीबाट पुजा गराएका थिए ।

नेपालबाट आएकी कलाकार चन्दा अर्याल लगायत साउथ अष्ट्रेलियामा बसोबास गर्दै आएका कलाकारहरुले विविध गित संगित प्रस्तुत गरेका थिए । परम्परागत भाकाका तिज गितमा नेपालबाट आएका अभिभावकहरुको सहभागिताले निकै रौनकता थपिएको थियो ।

आयोजक संस्था एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेलले यस बर्ष पहिलो पटक तिज मेलाकै रुपमा कार्यक्रम आयोजना गरिएको बताउदै समाज यहा रहेका चेलीहरुको माइतीका रुपमा निमन्त्रणा गरेर कार्यक्रम आयोजना गरेको बताए । उनले विगतमा समाजले दर कार्यक्रमहरु गरेको तर नेपालीहरुको संख्या बढे संगै अन्य संस्था तथा व्यवसायी ईभेन्ट आयोजकहरुले पनि गरिरहेको अवस्थामा समाजले अझै अगाडि बढेर तिज विशेष कै दिनमा कार्यक्रम आयोजना गरेको बताए ।

अध्यक्ष कडेलले समाजको कार्यक्रममा आत्मिय तरिकाले सहभागी हुनुहुने चेलीहरु सहित उहाहरुको परिवार, सहयोगी तथा स्वयंसेवकहरुको सहयोगमा कार्यक्रम सफल भएकोमा उहा प्रति आभार रहेको बताए ।

कार्यक्रम संयोजक दिपा दहालले सहभागी, सौजन्यकर्ता, स्वयंसेवक तथा कलाकारहरु प्रति धन्यवाद व्यक्त गरिन । उनले कार्यक्रममा सौजन्य गर्ने व्यवसायी संस्थाहरु तथा विहानै देखि प्रसाद तयारी गर्ने स्वयंसेवकहरुको भुमिका प्रशंसनीय रहेको बताईन ।

कार्यक्रममा खिर, अचार, तरकारी, विशेष रुपमा वर्तालुहरुको लागि फलफुल र सावदानाको खिर समेतको व्यवस्था गरिएको थियो । समाजका अध्यक्ष देवराज कडेलको स्वाग मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन एलिजा ढकाल र सम्मान कार्यक्रमको संचालन सचिव आर के शर्माले गरेका थिए । समाजका अध्यक्ष कडेल, पब्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मी, उपाध्यक्ष तथा एडिलेड नेपाली विद्यालयकी प्रिन्सिपल लक्ष्मी सापकोटा, उपाध्यक्ष सागर श्रेष्ठले कलाकार तथा सौजन्यकर्ता व्यवसायी संस्थाहरु सम्मान गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १६:०६