१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस

३ असोज, काठमाडौँ ।  संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आज बिहान विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो । मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषाङ्क विमोचन गरिएको थियो । समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १०:३७