१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

अध्यक्षका पिएलाई प्रतिनिधि बनाउन उम्मेदवार नै कार्यदलको संयोजक बनेर नुवाकोटबाट भागेपछि…

३ असोज, नुवाकोट । नेकपा एमालेको बागमती प्रदेशको अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुँदैछ । अधिवेशनका लागि प्रतिनिधि चयनको काम गरिब सकिएको छ । प्रदेशको अधिवेशनका लागि प्रतिनिधि छान्नका लागि एमालेको बागमती प्रदेश कमिटीले केही मापदण्ड तय गरेको थियो । तर कतिपय ठाउँमा पार्टीको स्थापित मान्यता विपरित प्रतिनिधि चयन गरिएका छन ।

कतिपयका असन्तुष्टि सामाजिक सञ्जाल मार्फत बाहिर आएका पनि छन । प्रतिनिधि चयनका लागि सबैभन्दा घिनलाग्दो दृश्य नुवाकोटको पञ्चकन्या गाउँपालिकामा देखिएको छ । हुनत पञ्चकन्या गाउँपालिकामा एमालेको गतिबिधि आलोचनारहित हुन सकेको छैन । प्रदेशको अधिवेशनका लागि प्रतिनिधि चयनमा भएको घटना दबाउन पालिका कमिटीका अध्यक्ष रामनाथ खनालले कार्यकर्ताका नाममा धम्कीपूर्ण टिप्पणी सामाजिक सञ्जालमा समेत लेखेका छन ।

प्रतिनिधि चयनका लागि उम्मेदवारी दिएका खनाल पछि आफैँ प्रतिनिधि चयनको संयोजक बनेर पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीका पिए दीपक कार्कीलाई प्रतिनिधि चयन गर्न नुवाकोटको पञ्चकन्यामा सहमतिका लागि भनि बोलाइएको बैठक छाडेर अध्यक्ष खनाल काठमाडौँ भागेका हुन । प्रतिनिधि चयनका लागि पञ्चकन्या गाउँपालिकामा दुई जनाका लागि १२ जनाले उम्मेदवारी दिएका थिए ।

सहमतिका लागि भनि बोलाइएको बैठकबाट भाग्नु भएछ नि भन्ने दैनिकीको प्रश्नमा खनालले अाफू सहमति हुने नदेखेपछि हिडेँको स्वीकार गरे । उनले भागेको नभइ सहमति नहुने संकेत देखिएपछि अरू भन्दा अघि हिँडेको बताए । खनाल तीनै व्यक्ति हुन जसले पञ्चकन्या गाउँपालिकामा स्थानीय चुनावमा एमालेले पराजय व्यहोरेकोमा नैतिकाको आधारमा राजिनामा दिएको घोषणा गरेका थिए । पछि खनालको राजिनामा पत्र नै हराएको थियो।

उम्मेदवारी दिनेमा पालिका कमिटीका अध्यक्षदेखि अध्यक्ष मैनालीका पिए कार्कीसम्म रहेका थिए । पालिका कमिटीको छाप हानेर पञ्चकन्या २ आठबिसेमा टाँसिएको उम्मेदवारहरूको अन्तिम नामावलीमा खनालसहित भगवान पौडेल, हरि गिरी, यमबहादुर थापा, केदार थापा, अर्जुन गिरी, राजु पराजुली, पशुपति थापा, दीपक कार्की, पशुपति सुवेदी, शिवराज गौतम, लोकनाथ सापकोटाको नाम छ । प्रतिनिघि चयनको उम्मेदवारको नाममा महिला कोटामा भने उर्मिला भण्डारी एक जनाको मात्र नाम अन्तिम सूचीमा रहेको छ ।

निर्वाचन कमिटीका नाममा टाँसिएको उम्मेदवारको अन्तिम नामावली ।

उम्मेदवारको अन्तिम सूचीमा नाम समावेश भएकाहरूलाई सहमतिका लागि प्रयास गर्ने भनेर खनाल आफैँले कार्यदल बनाएका थिए । उनी आफैँ उम्मेदवार भएका कारण उक्त कार्यदलसँग उनको कुनै साइनो हुनहुन्थेन तर उनी संयोजक नै बनेर कार्कीलाई प्रतिनिधि बनाउन पञ्चकन्याबाट भागेर काठमाडौँको बनस्थलमीमा रहेको अध्यक्ष मैनालीको घरमा पुगेका थिए । त्यहाँ कार्कीलाई प्रतिनिधि बनाउनेहरूमात्र जम्मा भएर १२ जना मध्येबाट कार्की र पशुपति थापा सर्वसम्मत प्रतिनिधि चयन भएको नक्कली कागज बनाएर जिल्ला कमिटीका नाममा पठाएको पत्र तयार गरिएको पञ्चकन्या गाउँ कमिटीका एक पदाधिकारीले दैनिकीसँग बताए । उनका अनुसार खनालको कार्यदलमा अर्का उम्मेदवार अर्जुन गिरी, नोकबहादुर थापा, धर्म कोइराला, कृष्ण गोतामे, रामबहादुर मिजार र ध्रुव मिश्रको सदस्य थिए ।

कार्कीलाई प्रतिनिधि बनाउनका लागि पञ्चकन्या गाउँपालिकामा भैरहेको छलफलबाट भागेर अध्यक्ष मैनालीको काठमाडौँको घरमा टोलीपुगेपछि भएको आलोचना सुन्नुको साटो पालिका कमिटीका अध्यक्ष खनालले भने उल्टै कार्यकर्तामाथि प्रहार गरेका छन । खनाल त्यसरी भाग्नुअघि पालिकामै भएको छलफलमा  १२ जना आकांक्षी मध्ये ९ जनाले दीपक कार्कीको नाममा असहमति जनाएका थिए । ५०० रूपैयाँ लिएर उम्मेदवारी लिएपछि उनीहरूले न प्रतिस्पर्धाको माैका पाए न उम्मेदवारी फिर्ता गर भनेर कसैले भन्यो ? तर १२ मध्येबाट नक्कली सहमतिको नाममा २ जना निर्विरोध भएको पत्र तयार भयो । त्यसपछि उम्मेदवार बनेका र नबनेकाहरू धेरै एमालेका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन । थेरैले पार्टी प्राइभेट लिमिटेड जस्तो बनेको भन्दै टिप्पणी गरेका छन ।

खनालले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘पार्टीले मिसन ग्रासरुट अभियान चलायो कतिपय साथीहरुले गाउँ नै देख्नु भएन । मसँग उपस्थित भएको रेकर्ड पनि सुरक्षित छ । निर्वाचन आउछ , पार्टीको अभियानहरु आउछ सिधा उत्तर आउछ पार्टीले के देको छ र लाग्ने, सदस्यता नवीकरण गर्नु पर्यो २० चोटी कल गर्दा हालेर गरिदिनु मेरो अरुको म ठेक्का लिन्न भन्ने उत्तर आउछ अनि जब अधिवेशन टिकटको बेला आउछ सबैभन्दा अब्बल मै हुँ अरु सबै भुसडी हुन भन्दै कहिले कहि नभ्याउने साथीहरु पनि त्यो बेला अरुभन्दा बढी समय लाग्छन र आफु वा आफुले भने जस्तो भएन भने पार्टीकै बिरुद्द गलत प्रचार गर्दै हिड्छन । बागमती प्रतिनिधी छान्ने सवालमा के सम्म पाइयो भने प्रतिनिधि नभए यस्तो … जि पार्टीमा बसिन्न रे अनि पार्टी बन्ला र !’

स्थानीय चुनावमा पञ्चकन्या गाउँपालिकामा कांग्रेस नेतालाई टिकट बेचेको र माओवादीलाई भोट बेचेको आरोप एमालेमाथि लागेको थियो । अहिलेसम्म उक्त आरोपको एमालेले खण्डन गरेको छैन । पञ्चकन्या २ बाट एमालेले नेतृत्व गरेको वडाबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरिएको थियो । उक्त चोरीका बारेमा एमालेका केही नेताले बोले पनि संस्थागत ढंगले पार्टीले केही बोलेन बरू पार्टीका जिल्लास्तरका केही नेताहरूले सामाजिक सुरक्षाभत्ता चोरीका बारेमा समाचार लेख्ने पत्रकारको सफाए गर्ने उपायमा छलफल गरेका थिए । यद्यपी उक्त विषय अहिले अदालतमा विचाराधिन छ ।

यसअघि विदुर नगरपालिकाको प्रतिनिधि चयन पनि केन्द्रीय सदस्य विन्दा ढुंगानाको तोक आदेशमा भएको थियो । त्यसको असन्तुष्टि स्वरूप केही जिल्ला कमिटीका सदस्यहरूले पार्टी जिल्ला कमिटी सदस्यबाटै राजिनामा दिएका थिए । एमालेको प्रदेश अधिवेशनमा नुवाकोटबाट अध्यक्षसहित पदाधिकारीमा तीन नेताकाले आकंक्षा  देखाएका छन । वर्तमान अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा पुनः काम गर्ने इच्छा देखाएका छन भने प्रदेश कमिटीका सदस्यद्धय बलराम आचार्य र पूर्णलाल श्रेष्ठले उपसचिव उम्मेदवार हुने आकांक्षा देखाएका छन ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १०:२१