६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

यातायात ब्यवस्था सेवा कार्याल परासीले एक वर्षमा बाह्र करोड राजश्व असुल गर्यो

१ असोज नवलपरासी । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट कूल रु १२ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएकाले यातायात सेवासँगै राजश्व सङ्कलन पनि बढेको कार्यालयले जनाएको हो ।

विभिन्न चार शिर्षकमा यस कार्यालयले गत आर्थिक वर्षमा कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आम्दानी, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, सवारी साधन कर र आयकरमा राजश्व सङ्कलन हुँदै आएको छ ।

यातायात क्षेत्रको आम्दानी रु १५ लाख ५५ हजार ६५, सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु एक करोड ७ लाख ९ हजार दुई सय ५० रहेकामा ( सवारी चालक अनुमतिपत्र नवीकरणबाट रु आठ लाख दुई हजार पाँच सय, सवारी साधन करबाट रु ११ करोड १४ लाख ९४ हजार ७५ र आयकरबाट रु ४८ लाख ४६ हजार पाँच गरी कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५सङ्कलन भएको थियो ।

यातायात कार्यालयले गत वर्षमा १७ हजार १ सय ९०वटा सार्वजनिक तथा निजी सवारी साधन नवीकरण, सात सय ९४ वटा सवारी साधनको जाँचपास तथा नवीकरण, एक सय ५३ वटा बाटो इजाजत, एक हजार सात सय २४अस्थायी बाटो इजाजत र सात सय ६५ वटा ओभरलोड बोकेको भारतीय सवारी साधनलाई कारबाही र तीसय ४८ वटा सवारी चालक अनुमतिपत्र नवीकरण गरिएको कार्यालयप्रमुख पाण्डेयले बताए ।

गत आर्थिक वर्षका साथै यो वर्षको एक महिनाको थप राजश्वसमेत सङ्कलन भएको बताउँदै उनले अहिले केही सेवा थप भएको हुँदा राजश्व वृद्धि हुनसक्ने जिकिर गरे । यस कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो, उनले भने, सेवाबापत लाग्ने दस्तुरबाट राजश्व पनि सङ्कलन गर्ने दोस्रो प्राथमिकता हो । अहिले राजश्व सङ्कलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउँदा राहत पनि भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा पनि ५७ वटा सवारी साधनको स्थायी बाटो इजाजतपत्र (रुट) नवीकरण, एकसय सय ४१सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, तीन सय ७८ अस्थायी बाटो इजाजतपत्र (पटके ) सेवा गरी कूल पाँच सय ७६ वटा सवारीसाधन सम्बन्धी सेवा प्रदान गरिएको छ ।

साउन महिनाभित्र सवारी साधन करबाट रु ९० लाख १५ हजार दुईसय ८०, सवारी नवीकरणबाट रु छ लाख २४ हजार तीनसय, सवारी चालक अनुमतिपत्रबाट रु १० लाख ३० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु दुई लाख ३३ हजार नौसय ५० र आयकरबाट रु दुई लाख ३० हजार छ सय गरी कूल एक करोड ११ लाख ३४ हजार एकसय ३० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यस जिल्लाभित्र नै बजाज र होण्डा कम्पनीको मोटरसाइकलको एसेम्बल गर्ने कारखाना छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १३:०३