१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमालेमा संगठित सदस्यको अधिकार ‘कु’ गरेर नेताको तोकआदेशमा प्रतिनिधि चयन


३१ भदौ, नुवाकोट । नुवाकोटमा नेकपा एमालेको बागमती प्रदेशको अधिवेशनका लागि प्रतिनिधि चयनका लागि अपनाइएको प्रक्रियामा असहमति जनाउँदै केही नेताले जिल्ला कमिटीबाटै राजिनामा दिएका छन । विदुर नगरपालिका भूगोलबाट गरिएको प्रतिनिधि चयनमा असन्तुष्टि जनाउँदै जिल्ला कमिटीका सचिवालय सदस्य कृष्णबहादुर प्याकुरेलले जिम्मेवारी त्यागेको घोषणा गरेका हुन ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी विदुर नगरपालिका इन्चार्ज विन्दा ढुंगानाको नेतृत्वमा संगठित सदस्यको अधिकार ‘कु’ गरेर तोकआदेशमा प्रतिनिधि चयन गरिएको हो । तोकआदेशमा प्रतिनिधि चयन भएको घोषणा गरे लगत्तै प्याकुरेलले जिल्ला कमिटीका सदस्यबाट राजिनामा दिएका हुन । उनले प्रतिनिधि चयनमा संगठित सदस्यको अधिकार कुण्ठित गरेकोमा गम्भीर असहमति र आपत्ति जनाएका छन ।

तोकआदेशमा प्रतिनिधि चयन गर्दा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई एमालेको भोट बेचेर वडा अध्यक्षका उम्मेदवार हराउन नेतृत्व गरेका पनि परेका छन । कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमा पनि त्यसको बिरोध गरेको छ भने कतिपयले एकअर्कामा फोन सम्पर्क गर्दै र चिया समिक्षा गर्दै तोकआदेश प्रवृतिको बिरोध गरेका छन ।

अहिले प्रतिनिधि चयनमा पीडित बनाइएका प्याकुरेल तीनै व्यक्ति हुन जसलाई २०७४ सालको स्थानीय निर्वाचनमा विदुर नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षको टिकट पार्टीले दियो तर एमालेकै नेताले नेपाली कांग्रेसका उम्मेदवारलाई खुला रूपमा मत मागेर हराइदिएका थिए । जसले कृष्णबहादुरका विरूद्धमा एमालेका नेता कार्यकर्तासँग मत मागेका थिए उनीहरू अहिले पार्टीमै अझै बलियो भूमिकामा देखिएका छन भने कृष्णबहादुर उम्मेदवारी दर्ता गरेर पनि संगठित सदस्यको बीचमा परीक्षण हुन नपाई नेताको तोकआदेशमा अयोग्य घोषित भएका छन ।

के भएको थियो ?

बागमती प्रदेशको असोज ८ र ९ गते हुने अधिवेशनका लागि प्रतिनिधि हुन चाहने योग्यता पुगेका संगठित सदस्यहरू मध्ये १८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येबाट ८ जना छान्नुपर्ने थियो । उम्मेदवारी कसैको पनि फिर्ता नभएपछि संगठित सदस्यको बीचमा मतदान गराएर लोकतान्त्रिक ढंगबाट प्रतिनिधि चयन गर्नुपर्नेमा संगठीत सदस्यको अधिकार ‘कु’ गरेर निर्वाचन समितिलाई समेत पंगु बनाएर बिचैमा तोकआदेश समिति गठन गरिएको थियो । उक्त तोकआदेश समितिको संयोजकमा केन्द्रीय सदस्य समेत रहेकी विदुर इन्चार्ज विन्दा ढुंगाना रहेकी थिइन भने सदस्यहरूमा बागमती प्रदेश कमिटीका सदस्य ठाकुर गजुरेल, जिल्ला कमिटीका उपाध्यक्ष बुद्धिबहादुर प्रधान, जिल्ला कमिटी सदस्य सञ्जिवबहादुर श्रेष्ठ र नगरकमिटीका अध्यक्ष नविन प्रधान रहेका थिए ।

समितिले समितिमै रहेका सदस्यहरूसहितको नाम राखेर ८ जनाको नाम निर्वाचन समितिलाई दिएको थियो । उक्त नाम नै सहमतिमा टुंगिएको भन्दै रामहरि रिमालको निर्वाचन समितिले हस्ताक्षर गरेर सार्वजनिक गरेको थियो । त्यसपछि प्रतिनिधि चुनिनका लागि उम्मेदवारी दिएका प्रदेश कमिटीका सदस्य नारायण घिमिरे, जिल्ला कमिटीका सदस्य कृष्णबहादुर प्यकुरेल लगायतले असन्तुष्टि सार्वजनिक गरेका थिए ।  अझ तोकको भरमा छानिएका प्रतिनिधिको नाम सार्वजनिक गर्दा निर्वाचन समितिले निर्विरोध छानिएकाहरू भन्दै सूची प्रकाशन गरेको थियो ।

तोकआदेशमा प्रतिनिधि छानिएपछि प्याकुरेल जनाएको प्रतिक्रिया 

भुमिगतकाल देखि नेकपा माले हुँदै एमालेमा रहेर गाउँ पार्टी सचिव ४ कार्यकाल, बिभाग, ईन्चार्ज तथा जिल्ला कमिटीमा रहेर ३ कार्यकाल रहेर मलाई दिईएको जिम्मेवारी पूरा गरेको छु । मैले कहिल्यै पनि लाभको पदमा बस्ने जमर्को गरिन र नेकपा एमालेबाट संस्थागत वा ब्यक्तिगत रूपमा फाईदा लिने काम गरिएन । २०४७ सालबाट संगठित सदस्यता प्राप्त गरि पार्टीले खटाएको काम कारबाही अनुशासितपूर्वक गर्दा काम गर्नेको मुल्याङ्कन राम्रै गर्ने रहेछ भन्ने कुरा आज आएर थाहा पाईयो ।

मैले साथीहरूलाई आगामी अधिवेशन बाट हुने जिल्लाका कुनै पनि कमिटीमा मेरो स्वास्थ्यका कारणले नरहने र एकपटक बागमती प्रदेशको अनुभव लिने र काम गर्ने ईच्छा जाहेर गरेकै थिए । प्रतिनिधि बन्न कि त कार्यदलको सिफारिस समितिमा बस्नुपर्ने कि त ठुला मान्छेहरूको खल्तीको मान्छे हुनुपर्ने रहेछ । आफू त सोझो मान्छे परियो लप्पन छप्पन,चाकडी, चाप्लुसी गर्न जानिएन र गरिदैन पनि । राजनीतिमा ग्रासरूट लेभल, जनताको बिचमा र पार्टीको विभिन्न निकायहरूमा कत्तिको काम गरेको छ भन्ने मापन गर्ने माध्यम निर्वाचन नै हो ।

आन्तरिक प्रतिस्पर्धाबाट खुट्टा कमाउनेहरू र च्याखे थाप्नेहरूबाट पार्टीको लागि सधै खतरा र हानि हुने कुरामा कुनै दुईमत छैन । कार्यकर्ताका माझ निर्वाचनमा गएको भए मत परिणाम यस भन्दा फरक आउदथ्यो भन्नेमा म अझै विश्वस्त छु । प्रदेश अधिवेशनका लागि जो म भन्दा धेरै सिनियर कमरेडहरू प्रतिनिधि छनौटमा पर्नु भएछ उहाँहरू सबैलाई शुभकामना दिन चाहन्छु । आजैबाट पार्टीको संगठित सदस्य मात्रै भएर ईमान्दारिताका साथ परेको बेलामा पार्टीलाई जोगाउन र सबै निर्वाचनहरूमा मरेर लाग्ने हामी भर्याङका रूपमा मात्र सदावहार लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछु।

पञ्चकन्या गाउँपालिको प्रतिनिधि काठमाडौँमा छानिदै

पञ्चकन्या गाउँपालिकाको पनि प्रतिनिधि छनौट विवादमा परेको छ । जिल्ला अध्यक्ष बद्री मैनालीका स्वकीय सचिव दीपक कार्कीलाई जसरी पनि प्रतिनिधि बनाउनका लागि भन्दै केही व्यक्तिले काठमाडौँमा रहेको पार्टी अध्यक्षको घर वा कुनै रेष्टुरेन्टमा बसेर प्रतिनिधि तोक्ने तयारी गरेका छन । शनिबार सहमतिको प्रयास गरिएको भए पनि अध्यक्षका स्वकीय कार्कीको नाममा धेरैको बिरोध भएपछि सहमतिको प्रयास गरेका पालिका कमिटीका अध्यक्ष रामनाथ खनाल नै बैठक छाडेर हिँडेका थिए ।

जिल्ला कमिटीले ३० गते भित्र प्रतिनिधिको टुंगो गरेर शुल्क बुझाउन निर्देशन दिएको भए पनि उनीहरूले ३१ गते यो समाचार तयार पार्दासम्म पनि तोकआदेश लगाएरै भए पनि प्रतिनिधि चयन गर्न सकेका छैनन् । प्रतिनिधि बन्न उम्मेदवारी दिएकाहरूले कि सर्वसम्मती हुनु पर्ने अन्यथा संगठीत सदस्यहरूको बीचमा परीक्षण हुन पाउनुपर्ने माग राखेका छन । उनीहरूले त्यसो नगरी बिद्रोह गर्ने चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १०:१४