तीन कम्पनीको हकप्रदमा आवेदन दिने आइतबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
२८ भदाै, काठमाडाैं । तीन कम्पनीकाे हकप्रद सेयरमा आवेदन दिने भदौ ३१ गते आइतबार अन्तिम दिन रहेकाे छ । अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरका लागि आवेदन दिने आइतबार अन्तिम दिन हो।
अरुण काबेली पावरले भदौ ११ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो। कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेकाे हो।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद सेयरमा बुधबार साँझ ५ बजेसम्ममा ६५ हजार १२५ सेयरधनीहरुले ८१ लाख ३१ हजार ४१७ कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको हकप्रद सेयरमा परेको आवेदन कुल निष्काशनको ४४ प्रतिशत मात्रै हो।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
त्यस्तै, सिनर्जी पावरले भदौ ३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो। सो हकप्रद शेयरमा आवेदन दिन भदौ ३१ गते अन्तिम दिन रहेको छ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रद सेयरमा ४२ हजार ५४७ आवेदनमार्फत कुल २४ लाख ४२ हजार ४१७ कित्ता सेयरका लागि आवेदन परेको छ। कम्पनीकाे हकप्रद सेयरमा ६१ प्रतिशत आवेदन परेको छ।
कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो। फाइनान्सको हकप्रद सेयरमा बुधबार साँझसम्ममा २२ प्रतिशत मात्र आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएकाे छ ।
फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिसम्ममा फाइनान्सको हकप्रद शेयरमा ३ हजार ३६३ सेयरधनीहरुले कुल ३ लाख ४८ हजार ५४ कित्ताका लागि आवेदन दिएका छन्।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ फाइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ११:१६












