२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

श्रम आप्रवासन सम्बन्धी समस्या समाधानका लागि छलफल गर्दै प्रधानमन्त्री

२५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्या समाधानका लागि छलफल गर्दै छन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बिहान ९ बजेदेखि सरोकारवाला मन्त्रीहरूसँग राखेर प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन ।

छलफलमा प्रधानमन्त्री, उपप्रधान एवं रक्षा मन्त्री, उपप्रधान एवं गृहमन्त्री, परराष्ट्र मन्त्री,श्रम मन्त्री, बिदेशस्थित सबैं नेपाली कुटनीतिक नियोगका प्रमुखहरू लगायत उच्च सरकारी पदाधिकारीहरूको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा मागपत्र प्रमाणिकरण, जाँचवुझमा रहेका समस्या, बैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहिन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, इ भिसा, सिजनल भिसाकाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वसनीय बनाउने विविध विषयमा निष्कर्षसहितको छलफल हुनेछ ।

प्रधानमन्त्रीकै पहलमा सर्वपक्षीय सरोकारवाला राखेर यसरी पहिलो पटक छलफल हुन लागेको हो । यो छलफल दुई दिनसम्म चल्नेछ । छलफलमा सबै कुटनीतिक निकायका प्रमुखले आ-आफ्नो तोकिएको मुलुकका समस्याबारेमा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन पेश गर्ने र प्रस्तुतिकरण गर्नेछन् ।

कुटनीतिक निकायसंगको प्रस्तुतिकरण पश्चात बैदेशिक रोजगारसंग सम्वन्धित निजी क्षेत्र तथा सरोकारवालासँग भाद्र २५ गते नै अर्को छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस पटकको अन्तर्क्रियाको निष्कर्षमा श्रम आप्रवासनका क्षेत्रमा देखिएका कानूनी,नीतिगत र संरचनात्मक रूपान्तरण लगायतका बिषयमा निर्णयहरू हुनेछन ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०९:१५