डिअाइजीसहित तीनको मृत्यु भएको दुर्घटना रहस्यमयी भएको भन्दै अनुसन्धान सुरू, चालक पक्राउ
१५ कात्तिक, काठमाडाैँ । कात्तिक १० गते शनिबार नेपाल प्रहरीका डीआईजी, पत्रकार र ट्रेड युनियन कांग्रेसका नेताको ज्यान जाने गरी भएको जीप दुर्घटना रहस्यमय भएको भन्दै अनुसन्धान सुरू गरिएको छ ।
अनुसन्धानमा खटिएको प्रहरीका डिआईजी पूर्णचन्द्र जोशी नेतृत्वको टोली वस्तुस्थितिबारे जानकारी लिन घटनास्थल पुगेको छ । प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रमुख जोशी नेतृत्वको टोलीले बिहीबार काभ्रेको मण्डनदेउपुर–६, को दुर्घटनास्थल पुगेर वस्तुस्थितीबारे जानकारी लिएर फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृतक डीआईजी भण्डारीको तर्फबाट उहाँका भतिजा क्षितिज भण्डारी र पत्रकार पराजुलीको तर्फबाट राजनप्रसाद पराजुलीले कानुनी कार्बाहीको लागि व्यवसायी एवं सवारी चालक प्रदिप बोगटीको विरुद्धमा प्रहरीमा उजुरी गरेपछि काभ्रे प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान शुरु गरेको छ ।
बोगटीलाई सवारी ज्यान मुद्धा दर्ता गरेर १० दिनको म्याद थप गरिएको छ । आफैं पनि घाइते भएका बोगटी बिएण्डबी अस्पतालमा उपचार गराइरहेका थिए । बिहीबार दिउँसो डिस्चार्ज भएपछि उनलाई काभ्रे प्रहरीले जिल्लामा लगेको छ ।
प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार २२:२४