सिनर्जी पावरको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?
२४ भदाै, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि आज भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज भदौ २४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले भदौ ३१ गतेसम्म म्याद थप गरिएकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनी गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्। कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार ०९:३३












