देशको आफ्नो छुट्टै पहिचानका लागि संस्कृति महत्त्वपूर्ण औजारः प्रा डा खगेन्द्र लुँइटेल
२४ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा खगेन्द्र लुँइटेलले विदेशमा नेपाली भाषा र संस्कृति प्रवर्द्धनका लागि राजदूतको भूमिका महत्त्वपूर्ण रहने बताएका छन । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले नवनियुक्त राजदूत तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको सम्मानमा शनिबार आयोजना गरेको अन्तक्रिय, बधाई तथा शुभकामना कार्यक्रमका प्राध्याक लुँइटेलले राजनीतिको गलत प्रभाव कुटनीतिमा परेको बताए ।
संकृति र भाषाका माध्यामबाटै नेपाललाई विश्व समुदायमा चिनाउन सकिने उल्लेख गर्दै लुँइटेलले नेपाली कमजोर छौँ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए । देशको आफ्नो छुट्टै पहिचानका लागि संस्कृति महत्त्वपूर्ण औजार हुने उनको धारणा छ । लुँइटेलले भाषा र संस्कृति जोगाउन सबैले पहल गर्नुपर्ने समय भएको पनि बताए ।
कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसले देशको प्रतिनिधित्व गर्ने राजदूतले औपचारिकमात्र नभई अनौपचारिकरूपमा पनि सम्बन्ध अघि बढाउन सक्नुपर्ने बताए । सांस्कृतिक सचेतना र प्रवर्द्धनमा राजदूतको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउनका लागि परराष्ट्र मन्त्रालयबाटै राजदूतलाई अभिमुखीकरण तथा निर्देशन हुनुपर्नेमा संस्कृतिविद् दिवसले जोड दिए । “देश भौगोलिक सीमाभित्र हुन्छ । भाषा साहित्य संसारभरि फैलिएको छ । यो जीवन्त भएर बसेको हुन्छ । विदेशमा बस्नेहरूमा आफ्नो भाषा, संस्कृतिप्रति अझ बढी माया र लगाव हुन्छ”, उनले भने, “नेपालसँगको सम्पर्क टुटेकै कारण कोही पनि आफ्नो संस्कृतिबाट एक्लिन हुँदैन । त्यसलाई जोड्नका लागि विदेशस्थित दूतावासले भूमिका खेल्नुपर्छ ।” परिषद्का अध्यक्ष बमबहादुर कार्कीले संस्कृति संसरक्षणका लागि चाल्न लागिएको पाइलाका बारेमा बताएका थिए ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग जेनेभाका लागि नेपालका प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी, युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल र थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत धनबहादुर ओली, त्रिभुवन विश्वविद्यालयकै प्राध्यापक डा ऋषिराम शर्माले पनि संस्कृति प्रवर्द्धनसहितको कूटनीतिमा जोड दिएको सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् बैकुण्ठ महतले जानकारी दिए ।
प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १२:१६