सरकारी वकिल कार्यालयको भवन उद्घाटनमा गएका महान्याधिवक्ता अग्नी खरेलद्धारा नुवाकोट कारागारको निरीक्षण
१५ कात्तिक, नुवाकोट । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बिहीबार विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले कारागार कार्यालयले उपलब्ध गराउने सेवा सुविधा, दैनिक सिदाका बारेमा कैदीबन्दीसँग जानकारी पनि लिनुभयो ।
महान्यायाधिवक्ता खरेलले भदौ १ गतेबाट लागू भएको नयाँ कानूनले पुरानो कानून विस्थापित गरेको सन्दर्भमा कैद मिनाहा भएर छुट्ने अवस्थाका कैदीबन्दीलाई किन नछोडिएको भनी कारागार प्रशासनसँग जिज्ञासा राख्नुभयो ।
“अहिलेको कानूनले ७५ प्रतिशत कैद भुक्तान गरेकालाई बाँकी कैद मिनाहा गरी छुट दिन सक्ने भनेर उल्लेख गरेको छ । हामीले त्यसलाई ५० प्रतिशत बनाउनु पर्छ भनेर प्रस्ताव गरेका छौँ”, उहाँले भन्नुभयो ।

कारागारमा हाल १४१ पुरुष र १९ महिला र एक शिशु रहेका छन् । निरीक्षणका क्रममा महान्यायाधिवक्ता खरेलले कैदीबन्दीको स्वास्थ्य, खानेपानी, सुत्ने स्थान र खानाको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो । कैदबन्दीले साँघुरो स्थानमा धेरै कैदीबन्दी बस्नुपर्दा समस्या भएको जानकारी गराउनुभएको थियो ।
निरीक्षणमा कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनाली, नायब महान्यायाधीवक्ता खगराज पौडेल, मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो । महान्यायाधिवक्ता खरेलले आजै जिल्ला प्रहरी कार्यालयका हिरासत कक्षसमेत निरीक्षण गर्नुभएको थियो ।
प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १९:५६












