२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कर्कीलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

२१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सत्तारूढ दलले कोशी प्रदेशमा प्रस्तुत गरिरहेको नग्नतामा पूर्णबिराम लगाइदिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गरी सपथ गराउन पमारदेश जारी गरेको छ ।

गत साउन १६ गते मुख्यमन्त्री नियुक्ति भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्नाइल मन्सुरीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । सत्तारूढ दलहरूको तर्फबाट थापाले गराएको गैरकानुनी काम बदर गर्न एमाले नेता कार्की सर्वोच्च पुगेका थिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलाशले थापालाई पदमुक्त गरी कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।

पूर्ण इजलाशमा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए । उक्त इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएका मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको छ । सर्वोच्चले विश्वासको मत बदर गरिदिएपछि सर्वोच्च अदालतबाटै थापा दोस्रो पटक पदमुक्त भएका छन ।

यो सर्वोच्चको सरकार प्रमुख नियुक्तिसम्बन्धी दोस्रो शक्तिशाली परमादेश हो । यसअघि सर्वोच्चले संघीय सरकारको प्रधानमन्त्रीबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदमुक्त गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेर सपथ खुवाउन भन्दै परमादेश दिएको थियो । उक्त परमादेश नै होटलमा तयार पारेर सर्वोच्चको बेञ्चमा लगेर पढिएको आरोप लागेको थियो । पहिलो परमादेशका रचनाकार सर्वोच्चका न्यायाधीश इश्वर खतिवडाले अन्तरिम आदेश दिएर महत्वपूर्ण कामकाज गर्न रोक लगाएको मुद्दामा सर्वोच्चको पूर्ण इजलाशले परमादेश जारी गर्दै व्यक्ति तोकेर मुख्यमन्त्री नियुक्ति गर्न आदेश दिएको हो ।

सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको चर्को आलोचना गर्ने एमालेकै माग र मुद्दामा मुख्यमन्त्री नियुक्ति गर्ने परमादेश दिएर एमालेको मुख समेत बन्द गराइदिएको छ । योसँगै सरकार बनाउने साँचो संघीय संसद र प्रदेशसभाबाट बिस्तारै सर्वोच्च अदालतले आफ्नै हातमा पुर्याएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १९:२१