‘मानव बेचबिखन रोक्न एकताबद्ध हुनुपर्छ’
२० भदौ, काठमाडौँ । मानव बेचबिखन जघन्य अपराध भएकाले सबै मिलेर रोक्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७ औँ दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घ (अनेम)ले आज आयोजना गरेको ‘मानव बेचबिखनको अवस्था र न्यूनीकरण’ विषयक अन्तक्र्रियाका वक्ताले सो विषयमा जोड दिए । शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनमा संलग्न अपराधीलाई राजनीतिक दलले संरक्षण गर्न नहुने बताए । उनले मानव बेचबिखनमा संलग्न अपराधीलाई खबरदारी गनुपर्ने र त्यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिए ।
सामाजिक अभियन्ता गौरी प्रधानले पछिल्लो समय मानव बेचबिखनको सिकार महिला मात्रै नभई पुरुष पनि हुने क्रम बढिरहेको बताए । उनले अन्तर्राािष्ट्रय जगतमै यसको जालो फैलिएको उल्लेख गर्दै शिक्षित व्यक्ति बढी नै मानव बेचबिखनमा परिरहेको दुःखद् अवस्था सुनाए । कार्यक्रममा सहभागीले मानव बेचबिखन न्यूनीकरण नहुनु निकै दुःखद् कुरा भएको भन्दै मानव बेचबिखन न्यूनीकरणका लागि सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । नेमसङ्घका कार्यवाहक अध्यक्ष सुमित्रा विसीले अनेमसङ्घले लामो समयदेखि मानव बेचबिखन रोक्नका लागि काम गर्दै आएको र यसलाई रोकथाम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार २०:११