ठेक्का प्रकृया व्यवस्थित गर्न प्रतिबद्ध छुः अर्थमन्त्री खतिवडा
१५ कात्तिक, काठमाडौं । ठेक्का प्रकृया व्यवस्थित गर्न अाफु प्रतिबद्ध रहेकाे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधवार भएको भेटमा अर्थमन्त्री डाक्टर खतिवडाले पर्याप्त बजेट नछुट्याएर ठेक्का प्रक्रियामा जाँदा धेरै समस्या देखा परेकोले परियोजनाका लागि पर्याप्त बजेट छुट्याएपछि मात्रै सरकार ठेक्का प्रक्रियामा जाने बताए ।

मन्त्री डाक्टर खतिवडाले निर्माण व्यवसायीको रोकिएको भुक्तानी पनि छिट्टै उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला उपकरण किन्न सरकारले व्यवसायीलाई सहुलियत व्यवस्था मिलाउने मन्त्री खतिवडाले आश्वसन दिएको भेटमा सहभागि व्यवसायीहरुले बताएका छन् ।
भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या र समाधानका उपायका बारेमा मन्त्री खतिवडालाई जानकारी गराएका थिए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डाक्टर खतिवडा समक्ष व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध (संहिता) ऐनप्रति कडा गुनासो गरेको थियो ।
प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १४:०६












