१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

धानमा गवारो, कोदोमा खुम्रे कीराको सङ्क्रमण

१८ भदौ, गलेश्वर (म्याग्दी) । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन् । धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका गाउँपालिका–४ का किसान रणबहादुर थापाले बताए । उनका अनुसार गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन् । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ”, थापाले भन्नुभयो, “अझ विषादी पनि खर्चिलो छ ।”

मङ्गला गाउँपालिकाको रणबाङको फाँट र बेनी नगरपालिका–२ बगरफाँटमा पनि धानमा गबारो कीराको सङ्क्रमण देखिँदा पूरै खेतमा धानको गुबो मर्दै गएको बगरफाँटका खड्गबहादुर थापाले बताए । उहाँका अनुसार धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पु¥याउने गरेको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन् । गबारो कीराको सङ्क्रमण तीव्ररूपमा फैलने भएकाले धान बाली केही दिनमै नष्ट हुने कृषि प्राविधिक बानियाँले बताए ।

“यसको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ”, उनले भने । धानखेतमा रासायनिक युरिया मलको अत्यधिक प्रयोग गर्नु, पानीको कमी हुनु तथा अन्य सुक्ष्म तत्वका कारण गबारो कीराको सङ्क्रमण सहजै फैलने बानियाँले जानकारी दिए । उनका अनुसार कोदो बालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रे कीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन् । कोदोको जरामा खुम्रे कीरा र डाँठमा गबारो देखिएको छ भने यहाँको धान खेतीमा ढुसीजन्य रोगको सङ्क्रमण पनि देखिएको किसानको भनाइ थियो । हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका–२ का किसान जगबहादुर विकले बताए ।

उनका अनुसार बालीमा रोग र किराको सङ्क्रमण बढ्न थालेपछि किसानले प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न थालेका छन् । विषादी छर्केपछि रोग अन्य स्थानमा फैलिन नपाउने भएको प्राविधिकको सल्लाहअनुसार विषादी छर्किएको विकको भनाइ थियो । हालसम्म एक सय ४० सय रोपनी जग्गामा लगाइएको कोदो बाली खुम्रे कीराले नष्ट गरेको उहाँले जानकारी दिए । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको कृषि प्राविधिक बानियाँले बताए ।

आगामी दिनमा मकै लगाउने मौसममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका अनुसार म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गरेको बानियाँले जानकारी दिए । लेकाली क्षेत्रमा सिँचाइ आवश्यक नपर्ने भएकाले घैया जातको धान खेती हुने उहाँको भनाइ थियो । उहाँका अनुसार यहाँ कोदो भने स्थानीय जातको खेती हुने गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १३:५५