अप्पर तामाकोशीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
१८ भदाै, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले आज भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकाे हाे । कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत साउन २६ गते बुकक्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १०:३४












