१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

विद्यालयमा पुगेर प्रहरीको सचेतना कक्षा

 १६ भदौ, बैतडी । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका छन् । उहाँले भन्नुभयो, “समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउन जिल्लाभरिका विद्यालय र समुदायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।”

कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेका छन् । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताए । विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथाम, ट्राफिक नियम लगायतका विषयमा छलफल हुने गरेको छ । उनले भने, “कक्षाकोठामै विद्यार्थीसँग सचेतनामूलक अन्तक्रिया गर्ने गरेका छौँ, यसले विकृति, विसङ्गती कम हुने विश्वास छ ।”

सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक हिंसा, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ । विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्रियाले समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको विश्वास छ । उनले भने, “प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा समाजमा सकारात्कमक परिवर्तन आउनुका साथै विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।” प्रहरीले थालेको यो कार्यक्रमले गाउँ समाजमा हुने सामाजिक अपराध घटना न्यूनीकरण गर्न सहयोग पुग्ने दोगडाकेदारस्थित सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए ।

विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपाराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । उनले भने, “विकृति, विसङ्गतीलगायतका विषयमा प्रहरीले दिइरहेको सचेतनामूलक कार्यक्रमले विद्यार्थीमार्फत सकारात्मक सन्देश जाने र अपराध न्यूनीकरणमा सहयोग पुग्छ ।” यसका साथै प्रहरीले गाउँ समाजमा सचेतना फैलाउने अभियान जारी राखेको छ । अपराध कम गर्न प्रहरीले जिल्लाका प्रत्येक टोल बस्तीमा खटिएर सचेतना कार्यक्रम जारी राखेको हो । विद्यालय तथा गाउँ टोलमा गरिने यस्ता सचेतनामूलक कार्यक्रमले समाजका हानिकारक प्रथा तथा प्रचलन हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १३:०८