१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पुल बन्न थालेपछि समृद्धिको बाटोमा मर्चवार

१४ भदौ, लुम्बिनी । विकासको पूर्वाधारबाट पछि परेको रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा छ वटा नयाँ पुल निर्माण हुने भएका छन् । दानव खोला, तिनाउ खोला, खडवा नाला र तेलियागढ नहरमा ती पुल निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ८० लाख बजेट विनियोजन गरिएकोे सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक पूर्वाधार विकास कार्यालय पुल विभाग मणिग्राम रूपन्देहीका इन्जिनियर गोविन्द खड्काले मर्चवार क्षेत्रमा आव २०८०/८१ मा छवटा पक्की पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले दानव खोला, तिनाउ खोला, खडवा नाला र तेलियागढ नहरमा नयाँ पुल निर्माण हुने भएको बताए ।

बेलबास–बेथरी–खैरा (मर्चवार) सडकमार्गको तिनाउ खोला र भुँवरी हुँदै भैरहवा–लुम्बिनी सडक सम्पर्क मार्गका लागि कोटहीमाई–५ दुईमोहान घाटस्थित तिनाउ खोलामा पक्की पुल निर्माणकार्य २०८१ असारसम्म पूरा हुँदैछ भने मायादेवी–५ गोनहा–बसहवा तिनाउ खोला पुलको बोलपत्र भई केही दिनमा निर्माण सुरु हुने इन्जिनियर खड्काले बताए । रूपन्देही जिल्लाकोे दुर्गम क्षेत्रका रूपमा चिनिने मर्चवारको दानव र तिनाउलगायतका खोलामा पुल नहुँदा वर्षात्का समयमा आवतजावतमा कठिनाइ हुने गरेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीको भनाइ छ ।

पुल नहुँदा वर्षात्का बेला मर्चवारवासीले जोखिमपूर्ण यात्रा गरिरहनुपरेको उनले बताए । कोटहीमाई गाउँपालिका–२ वासीको पीडा कसैसित लुकेको छैन । तीनतर्फबाट दानव र तिनाउ नदीले घेरेको सो वडाका अधिकांश गाउँको व्यवस्थापकीय हाल कहालीलाग्दो छ । अध्यक्ष कुर्मीले भन्नुभयो, “गाउँपालिकाको कार्यालय वा नजिकको बजार मझगावा पुग्न जोखिम मोलेर डुङ्गा चढ्नुको विकल्प छैन ।” पुल बनेपछि सबै सहज हुने उहाँले बताउनुभयो । सडक सञ्जाल र पक्की पुलको विकासले मर्चवार मात्र नभई समग्र जिल्लाको विकासमा टेवा मिल्ने सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले बताए ।

उहाँले भन्नुभयो, “अब मर्चवार क्षेत्रका ठूला र साना खोला–नालामा पक्की पुल बन्न थालेका छन् । बन्दै गरेका पुलले मर्चवारको यातायात क्षेत्रमा देखिएको सास्ती हट्ने निश्चित छ ।” गाउँपालिका अध्यक्ष श्रीवास्तवका अनुसार सडक र पुलको पहुँचले मर्चवारको आर्थिक तथा सामाजिक विकाससँगै यातायात व्यवसायी र पर्यटक समेतलाई बाटो सहज हुनेछ । पुलको विकासले उत्पादित सामग्रीको बजारीकरणसँगै स्थानीयवासीको शिक्षा, स्वास्थ्य र रोजगारलगायत पर्यटन प्रवर्द्धनजस्ता महत्त्वपूर्ण पक्षमा सहयोग पुग्ने उहाँकोे भनाइ छ । उनले भने, “यसअघि मर्चवार क्षेत्रको तीन गाउँपालिका सम्मरीमाई, मर्चवारी र कोटहीमाईवासीलाई बुद्धजन्मस्थल लुम्बिनी तथा जिल्ला सदरमुकाम भैरहवाका लागि सहज पहुँच थिएन ।”

पुल निर्माणका लागि विशेष भूमिका खेलेर सम्पर्क सहज बनाउन लागेको भन्दै श्रीवास्तवले लुम्बिनी प्रदेश सरकार तथा प्रदेशसभा सदस्य वसीउद्दीन खाँको प्रशंसा गरेका छन । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद वसीउद्दीन खाँले तिनाउमा तीन, दानव खोलामा एक, खडवा नालामा एक र तेलियागढ नहरमा एक गरी छवटा नयाँ पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजन गरिएको बताए । उनले प्रदेश सरकारले छ तथा सङ्घीय सरकारले एउटा पुल निर्माणका लागि बजेट विनियोजन गरेको जनाए । पूर्वमन्त्री खाँले बेलबास–बेथरी–खैरा सडकमार्गको तिनाउ खोलामा निर्माणाधीन पुलबाहेक प्रदेश सरकारको लगानीमा अन्य पुल निर्माणका लागि झन्डै एक अर्ब बजेट अनुमान गरिएको बताएका छन ।

उहाँका अनुसार यसबाहेक खुरहुरिया नालामा पुल निर्माणका लागि डिपिआर तथा दानव खोलाको चक्कियाघाटमा पुल निर्माणको सर्भे भइसकेको छ । “यसअघि मर्चवारको तीन गाँउपालिकालाई लुम्बिनीसित जोड्नका लागि बनेको एउटा मात्र पुलले समास्या ज्युँका त्युँ थियो”, उनले भने, “सम्मरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं २ लम्तिहवा जोड्न अतिआवश्क पुल निर्माणको प्रयास छ, यति कार्य भयो भने रूपन्देहीको कर्णाली भनेर चिनिने मर्चवारको मुहार फेरिने छ ।”

लुम्बिनी प्रदेश सरकारबाट बेलबास–बेथरी–खैरा सडकको तिनाउ खोलामा निर्माणाधीन पुलका लागि रु चार करोड, दुईमोहान घाटस्थित तिनाउ खोलामा निर्माणाधीन पुलको लागि रु चार करोड, मायायदेवी–५ गोनहा–बसहवास्थित तिनाउ खोलामा पुल निर्माणका लागि रु तीन करोड ५० लाख, पकडी–पडरहवा दानव नदीमा पुल निर्माणका लागि रु दुई करोड ५० लाख बजेट विनियोजित छ । त्यसैगरी कोटहीमाई–५, तेलियागढ चोक नहरमा कलभर्ट पुल निर्माणका लागि रु ५० लाख, मायादेवी–३ हरनामपुर खडवा नालामा पक्की पुल डिपिआरका लागि रु ३० लाख तथा सङ्घीय सरकारबाट दानव नदी पुल (मर्चवार–लुम्बिनी सम्पर्क सडक अमहवाघाट) डिपिआरका लागि रु ३७ लाख ६० हजार विनियोजन भएको आव २०८०÷८१ को रातो किताबमा उल्लेख छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार २०:३९